मेचीनगर, २९ चैत । मेचीनगर नगरपालिका–८ नम्बर वडा कार्यालयले सञ्चालन गरेको पन्ध्रदिने निःशुल्क स्वास्थ्य शिविरमा ९२७ जनाले सेवा लिएका छन् ।
वडा नम्बर ८ ले यही चैत १३ देखि २९ गतेसम्म सञ्चालन गरेको स्वास्थ्य शिविरमा सो संख्याका विरामीहरुले स्वास्थ्य जाँच गराएका हुन् ।
बुधबार दिनभर चलेको उक्त स्वास्थ्य शिविरमा ८ नम्बरका साथै त्यस आसपासका अन्य वडाका स्थानीयले पनि निःशुल्क उपचार सेवा पाएका छन् ।
शिविरमा सबै रोगका विरामीको स्वास्थ्य परीक्षण र ल्याब टेष्ट समेत गरी निःशुल्क औषधि वितरण समेत गरिएको वडाध्यक्ष गिरिराज धमलाले बताए ।
उनले गरिवी तथा घरायसी कारण सुविधा सम्पन्न अस्पतालमा उपचार गराउनका लागि जान असमर्थ समुदायलाई लक्षित गरी वडा कार्यालयले बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको बताए ।
शहर बजार भन्दा अलिक टाडा रहेको वडा भएकोले पनि यहाँका स्थानीयबासीलाई वडामा नै सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको उनको भनाई छ ।
वडा कार्यालयले धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरेर स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
शिविरमा निःशुल्क औषधि वितरण, ल्याब सेवा, पिसाब, सुगर तथा प्रेसर जाँच, ईसिजी, इको, लगायतका सेवा प्रदान गरिएको थियो ।
वीपीका ल्याव टेक्निसियन मोजेश चौधरीका अनुसार शिविरमा ९२७ जनाको जाँच गरेका मध्ये ४२३ जनामा मुटु, मिर्गौला, सुगर, प्रेसर लगायतका रोगबाट पीडित रहेको बताए । अन्य ११४ जना विरामी जोखिममा रहेको उनले बताए ।
शिविरमा धरानका उपकुलपति एवम् प्रोफेसर डा. सञ्जीव शर्मा, ल्याव टेक्निसियन चौधरी, फिल्ड कोडिनेटर आशिक मोक्तान, वीएसी नर्सिङ सुविका श्रेष्ठ लगायतका स्वास्थ्यकर्मीहरुले विरामीहरुको स्वास्थ्य जाँच गरेको वडा सदस्य कुन्दन निरौलाले जानकारी दिए ।
समापन कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत महेश पराजुली, प्रो.डा. शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वडाध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सम्पन्न स्वास्थ्य शिविरको स्वागत वडासचिव पवित्रा सुब्बाले र सञ्चालन आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेलले गरेका थिए ।
Discussion about this post