बुद्धशान्ति, ४ जेठ । अपहरणमा परेको नाटक गर्दै समाजमा भ्रम फैलाएको आरोपमा बुद्धशान्ति–४ का ३२ वर्षीय पूर्ण भनेर चिनिने शेरबहादुर सुहाङ पक्राउ परेका छन् ।
उनलाई अपहरणको नाटक गर्न सघाएको आरोपमा उनकै छिमेकी ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
गत वैशाख ३१ गते नेपाल विद्यार्थी संघका कार्यकर्ताले बुधवारेमा भ्रष्टाचारविरुद्ध विरोध कार्यक्रम गरेका थिए । सो कार्यक्रम विरुद्ध गालीगलौज फेसबुकमा लेखेर सुहाङ योजनाबद्ध रुपमा हराएका थिए ।
हराउने क्रममा उनले दर्जीको समेत सहयोग लिएका थिए । आफुले लगाएका लुगा र घडी उनले बुद्धशान्ति–७ को पैनीको बगरमा फालेका थिए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टियर्स (एलभी) कमान्डर समेत रहेका सुहाङलाई नेविसंघका कार्यकर्ताले अपरहण गरेको भन्दै मञ्चले प्रेस विज्ञप्ति निकालेको थियो भने सुहाङका आफन्तले खोजतलासका लागि धुलाबारी इप्रकामा निवेदन दिएका थिए ।
प्रहरीले तालिम प्राप्त कुकुर समेत प्रयोग गरेर सुहाङको खोजतलास गरेको थियो । इलामको रोङ गाउँपालिका–४ स्थित बिरिङ खोलाको पुलमुनि लुकेर बसिरहेको अवस्थामा बुधवार उनी भेटिएका थिए ।




Discussion about this post