मेचीनगर, १३ जेठ । प्रथम अधिवेशनको आयोजना गर्दै होटल व्यवसायी संघ मेचीनगरले होटल व्यवसाय क्षेत्र विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभाहलमा आज एक भव्य कार्यक्रमको आयोजना गर्दै व्यवसायी संघले दर्जन बढी अग्रज होटल व्यवसायीलाई सम्मान गरेको हो ।
लामो समयदेखि काँकरभिट्टा क्षेत्रमा होटल सञ्चालन गरी यस क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर गर्दै सीता राई, लोकमाया सुब्बा, मेग बहादुर पौडेल, घनश्याम कार्की (जीएस), नरदेवी गुरुङ, ज्ञानु लामा, कमला सुब्बा, सुनमाया तामाङ, माइली तामाङ, रुकमणी प्रधान लगायतलाई संघले सम्मान गरेको हो ।
यसैगरी संघले गौरीलाल श्रेष्ठ, प्रेम नारायण श्रेष्ठ र श्याम कार्कीलाई सम्झँदै मरणोपरान्त सम्मान समेत गरेको छ । सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी कोशी प्रदेशका प्रदेश सभासदस्य गोपाल तामाङ, विशिष्ठ अतिथी कोशी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य लगायतले खदा तथा सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रदेश सभा सदस्य तामाङले होटल व्यवसायलाई थप उचाईमा पुर्याउन सबै व्यवसायीहरु एक हुनुपर्ने बताए । ‘सबै व्यवसायी एक भयौँ भने यो क्षेत्र थप उचाईमा त पुग्नेछ नै यस क्षेत्रको विकासले समग्र पूर्वी नेपालको चिनारीलाई नै बलियो बनाउनेछ,’ कार्यक्रममा बोल्दै उनले भने ।
यसैगरी कार्यक्रममा विशिष्ठ अतिथीहरु निवर्तमान सांसद मैनाली, निवर्तमान नगरप्रमुख आचार्य, होटल व्यवसायी संघ झापाका सचिव शिवराम पौडेल, होटल व्यवसायी संघ चारआलीका संस्थापक अध्यक्ष भोजराज पराजुली, मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई, मेचीनगर ६ का वडाध्यक्ष ललित तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हस्तकुमार तामाङले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
Discussion about this post