बाहुनडाँगी, २५ जेठ । झापामा अत्याधिक गर्मी बढीरहेका बेला मेचीनगरका एकजना युवा व्यवसायीले आफ्नो छोरोको जन्मदिनमा एउटा सामुदायिक विद्यालयलाई फेन, लताकपडा र विहानको खाजाको व्यवस्था गरिदिएका छन् ।
हरेक वर्ष छोराको जन्मदिनमा सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएका युवा व्यवसायी सन्तोष खवासले यो वर्ष मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
छोरा स्वभिमान खवासको छैठौ वर्षको जन्मदिनको अवसर पारेर सो विद्यालयका बाल कक्षाका बच्चाहरुलाई २ थान फेन, ३ थान ढसना र ३ थान तन्ना प्रदान गरेका हुन् ।
खवासले बालकक्षामा अध्ययनरत ३२ जना विद्यार्थीहरुका लागि विहानको खाजा, मिठाइ तथा केक समेत काटेर नानीहरुबिच रमाइलो गरेका थिए । उनी मेची उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य समेत हुन् ।
अत्याधिक गर्मीले बच्चाहरुलाई पढाइमा असहज भइरहेको अवस्थामा उनले विद्यालयमै पुगेर भित्ते फेन सहित बच्चाहरुलाई दिउँसोको समयमा सुत्न सहज होस भन्ने उद्देश्यका साथ ढसना प्रदान गरेको प्रधानाध्यापक निरज पोखरेलले बताए ।
उनले यसअघि पनि कोरोना तथा भूकम्पको समयमा विभिन्न क्षेत्रमा पुगेर सहयोग गर्दै आएका थिए भने आर्थिक अवस्था कमजोर परिवारलाई समेत जन्मदिनमा विभिन्न सामाग्री सहयोग गर्दै आएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक निरज पोखरेल, दाता सन्तोष खवास, सृजना खवास, मेची विद्योदय आविका पूर्व अध्यक्ष मिलन विक, अभिभावक भोगेन्द्र थापा, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक देबु बानियाँले गरेका थिए ।
Discussion about this post