झापा, २६ जेठ । सत्तारुढ दल नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता बुद्धिराज न्यौपानेले पार्टी परित्याग गरेका छन् ।
कमल गाउँपालिकाको नेपाली कांग्रेस गाउँपालिका सभापति न्यौपानेले विहीबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जनाएका हुन् ।
विद्यार्थी राजनीतिबाट सुरु गरी लामो समयदेखि नेपाली काग्रेस पार्टीमा आवद्ध रहेको जनाउँदै न्यौपानेले आफू पार्टीप्रति सदैव सच्चा, इमानदार कार्यकर्ता रहेको तर पछिल्लो समय पार्टी आदर्श, सिद्धान्त र योजना अनुसार नचलेको आफूले पार्टी सभापतिका साथै साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको बताए ।
पार्टीका हरेक निकाय र तहमा मैले न्याय, समानता सम्मानपूर्वक भूमिका निर्वाह गर्दासमेत अवमूल्यन गर्ने गरेको, पार्टी नेतृत्वमा नातावाद, कृपावाद र चाकडीवाज विचौलियालाई विश्वास गर्नेहरुको वाहुल्यता रहेको, इमानदार कार्यकर्ताले कुनै न कुनै वहानामा अवसर नपाउने गरेको, पार्टीको सिद्धान्त, नीति, आदर्श र विधानविपरितका कार्य हुँदासमेत नेतृत्व वर्ग टुलुटुलु हेरेर बस्ने गरेको, अकुत पैसा खर्च गर्नसक्ने नवधनाढ्य र विचौलियाले मात्र अवसर पाउने प्रथा हुर्कंदै गएको विज्ञप्तिमा उललेख छ ।
त्यस्तै यस्तो अवस्थामा म जस्तो इमानदार र क्रियाशील कार्यकर्ताले नेतृत्वबाट अवमूल्यन हुने गरेको महसूस गरेको छु’, न्यौपानेले विज्ञप्तिमा उल्लेख गष्रेका छन्–‘मेरो आत्मालाई साक्षी राख्दै नेपाली कांग्रेसको साधारण सदस्यसहित सबै पद र जिम्मेवारीबाट आजका दिनदेखि अलग भई स्वतन्त्र नेपाली नागरिक भएर बाँकी जीवन नेपाली जनताकै लागि समर्पित गर्ने जानकारी गराउँदछु ।’
Discussion about this post