झापा, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ ।
मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका हुन् ।
अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको छ । ‘श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि अस्पताल आउनुभएको थियो’ उपचारमा संलग्न एक चिकित्सकले भने, ‘उहाँलाई मायोकाड्रिएल इन्फ्राक्सन (हृदयघात) भएको हो ।’
उनका अनुसार राष्ट्रपतिको मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ । पौडेल छाती दुख्ने, भारी हुने, गाह्रो हुने लगायतका समस्या भएपछि अस्पताल पुगेका थिए । ‘यस्तो स–साना हृदयघातले कुनै दिन ठूलो समस्या निम्त्याउँछ’ ती चिकित्सकले भने, ‘समयमै अस्पताल आइपुग्नु भएकाले एनजिओप्लास्टी गरेर रक्तनली खोलेका छौं ।’
चिकित्सकका अनुसार एनजिओप्लास्टी गरेपछि मुटुले कस्तो काम गर्छ भनेर दुई दिन हेर्नुपर्ने हुन्छ । त्यसैले राष्ट्रपति पौडेललाई दुई दिन अस्पतालमा नै राख्ने तयारी गरिएको छ ।
स्रोतका अनुसार अस्पताल निर्देशक डा.चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राष्ट्रपति पौडेलको शल्यक्रिया गरेको थियो । तर अस्पताल भर्ना भएका राष्ट्रपतिको विषयमा उनको सचिवालयले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन ।
राष्ट्रपति पौडेलले शनिबार पनि गंगालालमै नियमित परीक्षण गराएका थिए । शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले विज्ञप्ति जारी गरी राष्ट्रपति नियमित स्वास्थ्य परीक्षणका लागि आएका र चिकित्सकको सल्लाह अनुसार एक दिन अस्पतालमै अब्जर्भेसनमा राखिने बताएका छन् ।
(अनलाइन खवर)
Discussion about this post