काँकरभिट्टा, ३१ जेठ । मेचीनगर–६ स्थित नकलबन्द सीमा नाकामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका हवल्दारलाई इन्स्पेक्टरले निर्घात् कुटपिट गरेपछि अवस्था तनावग्रस्त बनेको छ ।
मध्यरातमा नकलबन्द पोष्टबाट हतियारसहित बर्दिमा ड्युटी गरिरहेका सशस्त्र प्रहरीका वरिष्ठ हवलदारहरु पासाङ तामाङ, गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवलदार शान्तबहादुर राई र जवान उमेश राजवंशीलाई सादा पोशाकमा खटिएका सशस्त्रका इन्स्पेक्टर नभप्रभात राईसहितको तीन जनाको टोलीले मेची नदीको पानीमा चोबाल्दै बाँसको भाटैभाटाले निर्घात कुटपिट गरेका थिए ।
घाइतेहरूको धुलाबारी स्थित आम्दा मेची अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे स्थानीयले थाहा पाएपछि ढुंगामुढा समेत गरेका थिए ।
कुटपिटबाट पासाङ र राजवंशीको ढाडमा चोट लागेको छ भने गणेशबहादुरको शरीरभरि नीलडाम बसेको छ । त्यस्तै रामबहादुर र शान्तबहादुरको दायाँ हातमा गम्भीर चोट लागेको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल कोशी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीले सादा पोशाकमा खटाएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू रामसुन्दर तामाङ र जीवन बाँस्तोलाले सो नाकाबाट तस्करी भएको भन्दै ड्युटीमा खटिएका बर्दीधारी सशस्त्रका हवलदारहरूलाई सार्वजनिक स्थलमा निर्घात कुटपिट गरेपछि आक्रोशित बनेका त्यहाँका स्थानीयहरू सादा पोशाकका इन्स्पेक्टर राईसहित तीनै जनालाई कडा कारबाहीको माग गर्दै नाराबाजीमा गरेका थिए ।
इन्स्पेक्टर राईसहित तीनैजनालाई बीओपी नकलबन्दा लैजाने क्रममा स्थानीयले होहल्ला गर्दै घटनास्थलमै घेरा हालेर रोक्न खोजेका थिए । सोही क्रममा स्थानीयले सशस्त्रको बीएबी ३२४६ नम्बरको गाडी समेत तोडफोड गरेका छन् । घटनाले उग्ररुप लिएपछि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल तत्काल घटनास्थल पुगेका थिए ।
घटनालाई साम्य बनाउन करिब एकसय सशस्त्र प्रहरी परिचालन गरिएको थियो । एसपी अर्यालले दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि मात्र अवस्था सामान्य बनेको थियोे ।
बराह बाहिनीबाट खटिएका इन्स्पेक्टर राई, सशस्त्र जवानहरू तामाङ र बाँस्तोलालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापामा झिकाएर विभागीय कारबाही प्रक्रिया अघि बढाएको एसपी अर्यालले जानकारी दिए ।
घटनाको बारेमा थप बुझ्न बराह बाहिनी मुख्यालय सुनसरीका एसपी विक्रम हुमागाईको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।
Discussion about this post