झापा, ३ असार । शनिबार राति पाँचथरको हेवा खोलामा आएको बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् । ५ वटा पुल समेत बगाएको अवस्था छ ।
हिजो राति हेवा खोलामा आएको बाढीमा परी पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाले बताए ।
बेपत्ता हुनेहरूमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ, फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम–४ हेवा खोलाबाट नाम खुल्न नसकेका एक जना रहेका छन् ।
यस्तै, फालेलुङ–३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले बताए । बाढीले ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, पूरै विवरण आउन बाँकी रहेको डीएसपी खतिवडाको भनाई छ ।
बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ । पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको खतिवडाले बताए ।
तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ । फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ । बाढीले याङ्वरक गाउँपालिका–३ र २ लगायत विभिन्न ठाउँमा ९ वटा घर समेत बगाएको स्थानीयको भनाई छ ।




Discussion about this post