बिर्तामोड, ३ असार । प्रेस चौतारी झापाले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष र सदस्यता शुद्धिकरण कार्यदलका संयोजक सहभागी कार्यक्रम वहिष्कार गर्ने निर्णय गरेको छ ।
सदस्यता शुद्धिकरणको नाममा नेपाल पत्रकार महासंघ झापाले गरेको पक्षपात र पूर्वाग्रही कार्यको विरोधमा वहिष्कार लगायतको आन्दोलन कार्यक्रम अघि सारिएको चौतारीका झापा अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।
चौतारीको जिल्ला कार्य समितिको आज बिर्तामोडमा सम्पन्न विस्तारित बैठकले सो आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए ।
केन्द्रले तोकेको मापदण्डभन्दा बाहिर गएर महासंघ झापाले चौतारी आवद्ध पत्रकारहरुलाई छानीछानी सदस्यताबाट वञ्चित गर्ने प्रयास गरिरहेको गदालको आरोप छ ।
उनले आज प्रेस विज्ञप्ति जारी गर्दै तीन बुँदे आन्दोलन कार्यक्रम सार्वजनिक गरेका छन् । जसको पहिलो र दोस्रो बुँदामा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी र शुद्धिकरण कार्यदलका संयोजक केशव भट्टराई सहभागी हुने कुनै पनि कार्यक्रम वहिष्कार गरिने उल्लेख छ ।
चौतारीले उनीहरु (दुई जनालाई) कुनै पनि कार्यक्रममा नबोलाउन तीनै तहका सरकारहरु, राजनीतिक दलहरु, सामाजिक संघ–संस्थाहरु समेतलाई आह्वान गरेको छ ।
विरोध कार्यक्रमको तेस्रो बुँदामा शुद्धिकरण अभियानका सन्दर्भमा भएका गलत कार्यविरुद्ध महासंघ झापा शाखाका पूर्व अध्यक्षहरु, पत्रकारजन्य संगठनका अध्यक्षहरु, प्रेस क्लबका अध्यक्षहरु, शुद्धिकरणका नाममा अन्यायमा पारिएका महासंघका सदस्यहरुसँग छलफल र अन्तरक्रिया गर्ने उल्लेख छ ।
महासंघको केन्द्रीय कमिटीले सदस्यता शुद्धिकरणका लागि १५ बुँदे मापदण्ड बनाएर कार्यान्वयनका लागि जिल्ला शाखाहरुमा पठाएको थियो । तर, झापाको पत्रकार महासंघ नेतृत्वले पूर्वाग्रही र आफुखुशी मापदण्ड बनाएर धेरै सक्रिय पत्रकारहरुलाई सदस्यताबाट हटाउने र मापदण्डले शुद्धिकरण हुनुपर्नेहरुलाई योजनाबद्ध रुपमा जोगाएको चौतारीको आरोप छ ।
चौतारीले जेठ ३२ गतेदेखि महासंघको शाखा कार्यालयमा धर्ना कार्यक्रम गर्दै आएको थियो ।
Discussion about this post