मेचीनगर, ३ असार । मेचीनगर नगरपालिका–११ स्थित धाइजन स्वास्थ्य चौकीमा आजदेखि ल्याब सेवा सुरु भएको छ ।
कोरोना महामारीको बेला कोभिड अस्पतालका रूपमा सञ्चालित धाइजन स्वास्थ्य चौकीमा आजबाट ल्याब सेवा सुरु भएको हो ।
ल्याब सेवा उद्घाटन गर्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले बाँकी रहेको १३ वटै वडामा पनि अब क्रमशः सेवा विस्तार गरिदै लैजाने बताए । उनले वडामै ल्याब सेवा सञ्चालन भएसँगै टाढा टाढा गएर रक्त परीक्षण गर्ने समस्याबाट वडावासीले छुटकारा पाउने बताए ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले स्वास्थ्यको क्षेत्रमा नगरपालिका संवेदनशील रहेको बताइन् । उनले सबै नगरबासीको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन आफुहरु लागि परिरहेको बताइन् ।
ल्याब सञ्चालन भएसँगै अब वडाबाट नै सिबीसी, एचबी, सुगर, विलिरुविन, दिशा पिसाव, एचआईभि, मलेरिया, डेंगु, भिडिआरएल, यूरिया क्रिटिनाईन लगायतका रक्त परिक्षण हुने नगरपालिका स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।
कार्यक्रममा नगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, मेचीनगर–११ का वडाध्यक्ष रुद्र डाँगी, स्वास्थ्य शाखा प्रमुख सापकोटा, वडा सचिव त्रिलोचन पौडेल लगायतको आतिथ्य रहेको थियो ।
यसअघि मेचीनगर–४ स्थित बाहुनडाँगी स्वास्थ्य चौकीमा पनि ल्याब सेवा सुरु गरिसकेको छ ।
Discussion about this post