पाँचथर, ४ असार । एकहप्तादेखि कोशी प्रदेशको पहाडी जिल्लामा लगातार परेको वर्षाका कारण बाढी एवम् पहिरोमा परी आज साँझसम्म ६ जनाको मृत्यु भएको छ ।
बाढी तथा पहिरोमा परी संखुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । जसमध्ये पाँच पुरुष र एकजना बालिका रहेका छन् ।
साथै बाढी एवम् पहिरोमा परी संखुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी जम्मा ६ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।
बाढी पहिरामा परी संखुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँचजना गरी जम्मा २९ जना बेपत्ता भएको प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । बेपत्ताको खोजी कार्य जारी रहेको पनि उनले बताए ।
Discussion about this post