ईटाभट्टा, ६ असार । पत्रकार ज्ञानेन्द्र निरौलाबाट आफू ठगिएको मेचीनगर–८ का व्यवसायी मोहन कटुवालले बताएका छन् ।
आज उनले मेचीनगर–७ स्थित ईटाभट्टामा पत्रकार सम्मेलन गरेर पत्रकार निरौलाले आफुले पाउने तीन लाख रुपैयाँ नदिएको दावी गरे ।
२०७७ सालमा मेचीनगरकै केशव पोखरेलको स्वामित्वमा रहेको जग्गा बेचबिखन गर्दा कमिसनमा आएको रकम बराबरी गर्नु पर्नेमा सबै रकम खाइदिएकोले पत्रकार निरौलाबाट पीडित भएको पत्रकार सम्मेलनमा कटुवालले बताए ।
‘जग्गा बिक्री गरेवापत पहिलो चरणमा आएको १० लाख दुवै जनाले बाढेका थियौँ’, कटुवालले भने–‘त्यसपछि ८ लाख आएकोमा निरौलाले ४ लाख दिनु पर्नेमा एकलाख मात्र दिए । बाँकी ३ लाख अहिलेसम्म दिएका छैनन् ।’ पैसा माग्दा उल्टै थर्काउने गरेको उनको भनाई छ ।
बिर्तामोडका महेन्द्र प्रसाईं, हरि प्रसाईं लगायतको टोलीले सो जग्गा खरिद गरेको थियो । कटुवालले भने, ‘मैले पाउनु पर्ने पैसाको चेक पनि विश्वास गरेर उहाँलाई नै पठाइदिनु भनें । तर त्यो पैसा पनि आजका मितिसम्म मैले पाइन ।’
आफू पीडित भएपछि पत्रकार निरौलाका विषयमा मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणि ओलीसंग कुरा राख्दा ओलीले ‘पहिला म कुरा गर्छु’ भनेको कटुवालले बताए ।
वडाध्यक्ष ओलीले पत्रकार निरौलाले गरेको काम उचित नभएको बताए । ओलीले भने, ‘यो काम नगर्नुस्, चाँडो पैसा दिनुस् भन्दा उहाँले अहिलेसम्म अटेर गर्नुभयो । मैले पनि पहल नगरेको होइन ।’
वडाध्यक्ष ओलीले कुरा गर्दा पनि आफूले पैसा नपाएपछि वडा कार्यालयमा निवेदन दिएको उनको भनाई छ । सो विषयमा वडाले नसकेपछि त्यही मुद्दा मेचीनगर नगरपालिकाको न्यायिक समितिमा पुगेको थियो ।
नगरपालिकाको न्यायिक समितिले पटक–पटक फोन सम्पर्क गर्दा तथा पत्र काट्दा पनि पत्रकार निरौला छलफलमा समेत उपस्थित नभएको कटुवालको दावी छ ।
‘त्यो न्यायिक समिति को हो मेरो मुद्दा हेर्ने भन्दै फोनमा धम्क्याउने काम गर्नुभयो’, उनले भने –‘जिल्ला अदालत होइन, अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु । त्यहाँ चाहिँ म जान्छु भन्दै धम्क्याउनु भयो ।’
नगरपालिकाको न्यायिक समितिले पनि पत्रकार निरौला छलफलमा नआएको भन्दै कटुवाललाई अदालत जाने बाटो खुल्ला छ भनेर पत्र दिइएको छ ।
उनले आफू धेरै पटक निरौलाको घरमा गएर आग्रह गरेको बताए । ‘घरमा पुग्दा गाईको पुच्छर समातेर पनि कसम खानुभयो म पैसा दिन्छु भनेर । खोइ त अहिलेसम्म ?’ उनको गुनासो छ ।
श्रोतका अनुसार यी त एउटा प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता पीडित अझै आधा दर्जन व्यक्तिहरु निरौलाबाट पीडित रहेको बताइएको छ । कटुवालको काँकरभिट्टा स्थित बाहुनडाँगी रोडमा किराना पसल छ । उनी जग्गा कारोवारी काम गर्छन् ।
पत्रकार निरौला मेचीनगर–७ स्थित ईटाभट्टामा सञ्चालित रेडियो मन्त्र र सेतापत्र अनलाइनका सञ्चालक हुन् ।
यस विषयमा प्रतिक्रिया लिन पत्रकार निरौलालाई फोन सम्पर्क गर्दा फोन उठेन ।
Discussion about this post