धुलाबारी, १० असार । वातावरण संरक्षण केन्द्र नेपालले मेचीनगरको ६ वटा माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानीको सुविधाका लागि ३६ लाख मूल्य बराबरको अत्याधुनिक फिल्टर मेसिन प्रदान गरेको छ ।
एक हजार लिटर क्षमताको एउटा फिल्टरको मूल्य ६ लाख रहेको छ । केन्द्रले विद्यालयहरुलाई निःशुल्क रुपमा फिल्टर दिएको केन्द्रका झापा प्रतिनिधि अमर मेचेले बताए ।
फिल्टर मेसिन पाउने विद्यालयहरु मेचीनगर ८ को आदर्श माध्यमिक विद्यालय, वडा नं. १० को इस्ट होराइजन आवासीय अंग्रेजी माध्यमिक विद्यालय र धुलाबारी माध्यमिक विद्यालय, वडा नं. ९ को कवि शिरोमणि माध्यमिक विद्यालय, वडा नं. १३ को शहिद दशरथ माध्यमिक विद्यालय र वडा नं. १४ को बाल सुबोधिनी माध्यमिक विद्यालय छन् ।
मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले प्राप्त भएका फिल्टर मेसिनबाट दश हजार भन्दा बढी विद्यार्थी शुद्ध पिउने पानीको सुविधाबाट लाभान्वित हुने दावी गरे ।
नगरका अन्य विद्यालयमा पनि शुद्ध पिउने पानीको अभाव पूरा गर्न थप मेसिन उपलब्ध गराउनका लागि वातावरण संरक्षण केन्द्र नेपाललाई अनुरोध गरिएको उनले बताए ।
आदर्श मावि व्यवस्थापन समितिका अध्यक्ष पूर्ण खड्काले आफ्नो विद्यालयलाई उपलब्ध भएको फिल्टर प्लान्ट जडान गरिएको जनाउँदै त्यसको सञ्चालन र प्राविधिक रेखदेख विद्यालयका कर्मचारीले नै गर्ने बताए ।
Discussion about this post