मेचीनगर, १३ असार । विगत दुई वर्षयता लोककल्याणकारी विज्ञापन वापतको रकम सञ्चारमाध्यामलाई नदिएको भन्दै प्रेस क्लब मेचीनगरले ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रेस क्लबले बुधवार मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई भेटेर पुनः ध्यानाकर्षण पत्र बुझाएको हो । यसअघि पनि प्रेस क्लबले ध्यानाकर्षण पत्र बुझाएको थियो ।
प्रेस क्लबका अध्यक्ष डम्बर बरालको नेतृत्वमा गएको अगुवा पत्रकारहरुको टोलीले नगरप्रमुख बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई सो पत्र संयुक्तरूपमा बुझाएका हुन् ।
सञ्चार क्षेत्रमा छुट्याइएको बजेट समेत प्रक्रिया पुर्याउदा पनि अहिलेसम्म भुक्तानी नहुनु नगरपालिका मिडिया मैत्री बन्न नसकेको प्रेस क्लबको आरोप छ ।
‘सञ्चार क्षेत्रको विकास तथा सम्वद्र्धन गर्नु स्थानीय सरकारको दायित्व हो,’ नगर प्रमुख बुढाथोकीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘बजेट बनाउँदा सञ्चारलाई छुट्याउने तर भुक्तानी नदिने परम्पराले नगरपालिका मिडियाप्रति अनुदार बनेको प्रष्ट छ ।’
झापाका अन्य पालिकाले स्थानीय मिडियालाई विगतदेखि नै प्रक्रिया पुर्याएर समयमै रमक भुक्तानी गर्दै आएको छ । तर, मेचीनगरले स्थानीय मिडियालाई पाउने लोककल्याणकारी विज्ञापन वापतको रकम दिएको छैन् ।
मेचीनगरले यहि असार १० गते दोस्रो नगरसभाको तेस्रो अधिवेशनले १ अर्व ५१ करोड बढीको बजेट ल्याएको छ ।
नगर प्रमुख बुढाथोकीले स्थानीय मिडियाको विषयमा स्पष्ट धारणा बनाउने बताए । उनले मिडियालाई लोककल्याणकारी विज्ञापन वापत दिँदै आएको रकम उपलब्ध गराउने विषयमा छलफल गरिने दावी गरे ।
Discussion about this post