जनकपुर, २० असार । कीर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार साँझ ५ बजे प्रहरी कार्यालय पुगेकी यादवलाई हिरासतमा राखिएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा उपमेयर यादवविरुद्ध अनुसन्धान अघि बढाउन आदेश दिएको थियो ।
उपमेयर मीरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका–४ का कृष्णकुमार यादव उजुरी लिएर प्रहरीकामा पुगेका थिए । तर प्रहरीले उजुरी नलिएपछि यादवले उच्च अदालतमा उजुरी दिएका थिए ।
रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो । उपमेयर यादवका पति महेन्द्र भने फरार छन् । नागरिकता सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । उनको पतिको खोजविन भइरहेको छ ।
उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दावी उजुरीमा गरिएको छ ।
Discussion about this post