मेचीनगर, २३ असार । डा.शरणकुमार रिजालद्धारा लिखित गोल मरिच खेती तथा प्रशोधन सम्बन्धी पुस्तक विमोचन भएको छ ।
आज धुलाबारी स्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पत्रकार चन्द्र भण्डारीले पुस्तक विमोचन गरेका हुन् ।
प्रमुख अतिथि भण्डारीले पर्यावरणसँग जोडिएको मरिच खेतीले जीवन निर्वाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
‘मरिच ‘कालो सुन’ हो यसको व्यवसायिक उत्पादनमा लाग्दा हरेक मानिसको जीवनमा आर्थिक समृद्धि छाउँछ’, भण्डारीले भने, –‘आज हाम्रा खेतबारी बाँझै छन् । अव व्यवसायिक रुपमा उत्पादनमा जोडिनुको विकल्प छैन ।’
मेची उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष निर्मला भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा साहित्यकार ज्ञानेन्द्र ढुंगानाले पुस्तकको समिक्षा गर्दै पुस्तक बहुउपयोगी भएको बताए ।
मरिचको महत्व, यसका विभिन्न जात, गोलमरिचको विरुवा, उत्पादन, नर्सरी, मलको प्रयोग र व्यवस्थापन, मौसम तथा जलवायु लगायतका २४ वटा विषयलाई समेटेर ८९ पृष्ठ लामो सो पुस्तक प्रकाशित गरिएको छ ।
पुस्तकका लेखक रिजालले गोलमरिच एउटा महत्वपूर्ण नगदेवाली भएकोले यसको व्यवसायिक उत्पादनमा लाग्न सुझाव दिए ।
औषधिजन्य गुण भएको र खानाको विभिन्न परिकारमा समेत प्रयोग हुने गोलमरिच बिश्वका विभिन्न मुलुकमा निर्यात भइरहेको उनले बताए ।
कार्यक्रममा प्राज्ञ सदस्य सुभद्रा भट्रराई लगायतले बोलेका थिए ।
कार्यक्रममा नेपाल सुपारी खेती विकास संस्थाका उपाध्यक्ष निलकण्ठ तिवारी, त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, मेची उद्योग वाणिज्य संघका कार्यालय प्रमुख गोपाल बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।
ईन्जीनियर एवम् समाजसेवी कमल कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मेची उद्योग वाणिज्य संघका महासचिव दिनेश शाक्यले गरेका थिए ।
Discussion about this post