सिलिगुडी, २३ असार । काँकरभिट्टाको सीमापारी भारतको पश्चिम बंगालमा आज भएको पञ्चायत चुनावमा हिंसा भड्किदा १५ जनाको मृत्यु भएको छ ।
शनिबार बंगालका २२ जिल्लाको ९२८ सिट र नौ हजार ७३० पञ्चायत समितिको ६३ हजार २२९ सिटका लागि चुनाव भएको थियो ।
विभिन्न जिल्लामा मतदानको क्रममा भएका झडप र मतपेटिका लुटपाटमा १५ जनाको मृत्यु र दर्जनबढी घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
सन् २०१८ मा भएको पञ्चायत चुनावमा २२ जिल्लाकै परिषद् भारतीय जनता पार्टी (बीजेपी)ले कब्जा जमाएको थियो । पञ्चायत समितिको ९० प्रतिशत सिटमा उसकै कब्जा थियो ।
अहिलेको चुनावमा पाँच करोड ६७ लाख मतदाताले मताधिकार प्रयोग गरेका छन् । ६५ हजार केन्द्रीय पुलिस र ७० हजार राज्य पुलिस चुनावको सुरक्षामा तैनाथ गरिएको थियो ।
चुनावमा तृणमूल कांग्रेस र बीजेपी नै मुख्य प्रतिष्पर्धी छन् । बाममोर्चा र भारतीय कांग्रेस आफ्नो साख जोगाउने प्रयासमा छन् ।
केहि वर्षअघि कम्युनिस्टको गढ भएको यो प्रान्तमा अहिले तृणमूल कांग्रेसको वर्चस्व रहँदै आएको छ ।
Discussion about this post