मेचीनगर, २९ असार । भारतको आसाम डाउन टाउन युनिभर्सिटीले कमन स्कलरशिप इक्जाममा छुटेका नेपाली विद्यार्थीलाई समेत दश करोड भारुको छात्रवृत्ति दिने भएको छ ।
आज बिर्तामोडमा युनिभर्सिटीका नेपाल प्रमुख शंकर भट्टराई पत्रकार सम्मेलन गरेर इक्जाममा सहभागी बन्न छुटेका नेपाली विद्यार्थीलाई अब प्राप्तांकका आधारमा सो रकम बराबरको छात्रवृत्ति दिइने घोषणा गरेका हुन् ।
कोरोना महामारीपछि युनिभर्सिटीले नसोचेको आँकडामा नेपाली विद्यार्थीलाई छात्रवृत्तिको अवसर प्रदान गरिरहेको भट्टराईले बताए । भुटान, बंगलादेश लगायतका मुलुकका विद्यार्थीहरु भन्दा नेपाली विद्यार्थीलाई बढी प्राथमिकता दिइएको उनको भनाई छ ।
उनले इन्जिनियरिङ, मेडिकल, पारामेडिकल, होटल मेनेज्मेन्ट, सूचना तथा प्रविधि (आईटी) लगायतका दर्जनौं विषयमा उच्च शिक्षा लिन चाहने नेपाली विद्यार्थीहरुका लागि युनिभर्सिटीको ढोका सधै खुल्ला रहेको दावी गरे ।
युनिभर्सिटीले गत वर्ष पनि ५ करोड भारुको छात्रवृत्तिको अफर दिइएको थियो । यसवर्ष त्यसलाई बढाएर १० करोड भारु पुर्याएको छ ।
एसइई र कक्षा १२ को परीक्षा दिएका नेपाली विद्यार्थीहरुले छात्रवृत्ति पाउनका लागि एक साताअघि नै कमन स्कलरशिप इक्जाम परीक्षा दिएका थिए । यसको नतिजा समेत सार्वजनिक भइसकेको छ ।
गतवर्ष ७० जना विद्यार्थीले स्कलरसिप पाएका थिए । यसपटक पनि सोहि संख्यामा विद्यार्थीहरुले स्कलरसिप पाएको बताइएको छ । उनले प्रक्रिया पुगेका हरेक विद्यार्थीका लागि ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरेको समेत बताए ।
त्रिभुवन विश्वविद्यालयबाट आसाम डाउन टाउन युनिभर्सिटीमा पढाई पूरा गरेर फर्किएका कुनै पनि विद्यार्थीको समकक्षता प्रमाणपत्र लिनका लागि समस्या नपर्ने बताए ।
पूर्वोत्तर भारतमा सन् २०१० मा स्थापित सबैभन्दा ठूलो र प्रतिष्ठित युनिभर्सिटीमा नेपाली विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको छ ।
आसामको गुवाहाटीमा रहेको युनिभर्सिटी नेपाली विद्यार्थीहरुले रोज्नुमा त्यहाँको हावापानी, भूगोल, भाषा, संस्कृति, रहनसहन र नजिकको दूरीको समेत कारण रहेको भट्टराईको भनाई छ । झापाबाट त्यहाँ पुग्न ५०० किलोमिटरको दुरी पर्छ ।
युनिभर्सिटीसँग पोखरा, विराटनगरको मनमोहन प्राविधिक विश्व विद्यालय, काठमाडौँ र मोरंगको सुकुना क्याम्पसहरुले उच्च शिक्षा, व्यवस्थापन लगायतका विषयमा सम्झौता गरेका छन् ।
भट्टराईको काँकरभिट्टामा लक्ष्मी एजुकेसलन कन्सल्टेन्सीको कार्यालय समेत रहेको छ ।
Discussion about this post