मेचीनगर, १ साउन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले विना जानकारी ८० हजार सदस्यको खाताबाट सात सयका दरले पाँच करोड ६० लाख रकम कटौती गरेको छ ।
एनएमसीका केहि सदस्यहरुले राहत कोषको नाममा सात सय रुपैयाँ विना जानकारी काटेको भनेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । रकम काटेको विषय सामाजिक संजालमा प्रश्न र आलोचना भइरहेको छ ।
मेचीनगरका डिल्लीराम उप्रेतीले आफ्नो खातामा रहेको रकम चेक गर्ने क्रममा खाताबाट ७०० रुपैयाँ काटिएको थाहा पाए । खाताबाट रकम काटिएको विषयमा एनएमसीको चारआली शाखामा सम्पर्क गर्दा त्यहाँका कर्मचारीले प्रधान कार्यालयबाटै काटिएर आएको बताएका थिए ।
हिजो दिउँसो काटिएको पैसाको मेसेज आज साँझ ६ वजे आएको उनले बताए । एनएमसीको प्रधान कार्यालयका एक कर्मचारीका अनुसार एकलाख ५२ हजार सदस्य मध्ये अहिलेसम्म ८० हजार सदस्यको राहत कोषका लागि ७०० का दरले पैसा काटिएको बताइएको छ ।
एनएमसीको भर्खरै पदभार समालेका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटीले एक हजार भन्दा माथि रहेका सदस्यको राहत कोषका लागि रकम काटिएको बताए । साधारण सभाको निर्णय अनुसार नै सो रकम कटाएको उनको भनाई छ ।
सदस्यलाई विना जानकारी रकम काटिएको विषयमा प्रश्न गर्दा अध्यक्ष शिवाकोटीले प्राविधिक कारणले मेसेज आउँन ढिला भएको दावी गरे । उनले सिस्टममा हालेपछि एनसेल वा एनटिसीमा हालेर मेसेज पठाउने काम टेलिकमको रहेको बताए । टेलिकमले सदस्यलाई मेसेज पठाउन ढिलो गरेको उनको भनाई छ ।
आइतबार दिउँसो काटिएको पैसाको मेसेज सोमबार साँझ मात्र सदस्यहरुको मोवाइलमा भटाभट आउँन थालेको छ । यदि कोहि सदस्य यस कोषमा बस्न इच्छुक नहुनेले निवेदन दिए रकम फिर्ता गरिने कार्यालयले जनाएको छ ।
एक हजार माथिका करिव एकलाख भन्दा बढी सदस्यको बार्षिक रुपमा उठ्ने ७ करोड भन्दा बढी रकमका विषयमा सोध्दा अध्यक्ष शिवाकोटीले भने–‘नेपाल सरकारले नागरिकबाट ३५ सय लिएर बार्षिक स्वास्थ्य बीमा कार्यक्रम गरे जस्तै हो । राहात कोष मार्फत सदस्यको मृत्यु भएमा ५० हजार, एकाघर परिवारमा सुध्याईं खर्चबापत १० हजार लगायतका सेवा दिने गरिएको छ । अर्को वर्षका लागि फेरि ७०० रुपैयाँ तिरेर नविकरण गर्नु पर्छ ।’
Discussion about this post