झापा, ४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पास भएको करिव एक क्वीन्टल सुन बाहिर समातिएको छ ।
करिव एक क्वीन्टल सुन बरामद
राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
‘नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हुनसक्छ’, उनले भने । बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो ।
मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।
‘अझैसम्म बरामद सबै सुनको तौल लिइसकेको छैन, अनुसन्धान गरिरहेका छौं’, ढुंगानाले भने–‘ हङकङबाट आएको सुन भारततर्फ तस्करी गरेर लैजान लागिएको आशंका गरिएको छ ।’
भन्सार जाँच पास भएर सिनामंगल पुगेको सुनबारे भन्सार विभाग र विमानस्थल भन्सार कार्यालयले चाहिँ अनविज्ञता प्रकट गरेको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेलले भन्सारबाट कटेको सुन समातिएकोबारे जानकारी नभएको बताए ।
विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल अहिले विदामा छन् । उनको अनुपस्थितिमा भन्सारको जिम्मेवारी नारद गौतमले सम्हालेका छन् ।
६ जना पक्राउ
विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन प्रकरणमा ६ जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्नेमा एक भारतीय नागरिकसहित ६ जना छन् ।
विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा रामकुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको हो ।
यस्तै, थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन् । अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास भएको एक अर्ब रुपैयाँ बढीको सुन बरामद प्रकरणमा भन्सार विभागले छानबिन थालेको छ ।
सबैलाई निलम्बनको तयारी
प्रारम्भिक चरणमा उक्त सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको विभागका महानिर्देशक पौडेलले बताए । ‘केहीबेरमा यसबारे निर्णय हुन्छ, हामीले आन्तरिक छानबिन तीव्र पारेका छौं,’ महानिर्देशक पौडेलले भने, ‘जाँच पासमा संलग्न सबै निलम्बन हुन्छन् ।’
विभागले भन्सारबाट सुन पास भएको विषय संगठित रुपमा भएको हो वा प्राविधिक कमजोरीमा तस्करले फाइदा उठाएको हो भन्नेबारे विभागले अनुसन्धान अघि बढाएको महानिर्देशक पौडेलले बताए ।
राष्ट्र बैंकले आज सुन जोख्ने
बरामद भएको सुनको परिमाण भने एकिन भइसकेको छैन । विभागले बरामद भएको सुनको जोख्न आज राष्ट्र बैंक लैजाने जनाएको छ ।
Discussion about this post