झापा, ४ साउन । लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमण झापा, मोरङ, सुनसरी लगायत कोशी प्रदेशका ११ जिल्लामा फैलिएको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका पब्लिक हेल्थ अधिकृत (डेंगु फोकल पर्सन) विवेचना चम्लागाईँका अनुसार सात महिनायता झापामा २४, मोरङमा २५ र सुनसरीमा दुई सय ४० जना डेंगुका बिरामी फेला परेका छन् ।
उनका अनुसार यो अवधिमा कोशी प्रदेशका ११ जिल्लामा डेंगु रोगीको संख्या तीन सय १२ जना पुगिसकेको छ । मधेस, पहाड र हिमाली जिल्ला सबैतिर डेंगु फैलिएको पाइएको छ ।
गर्मी र बर्खायाममा डेंगु फैलिने गरेको छ । डेंगुका अधिकांश बिरामी एक महिनाभित्र फेला परेका हुन् । सुनसरीको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र झापाका अस्पतालमा डेंगुका बिरामीको उपचार भइरहेको छ ।
पछिल्लो एक हप्तामा मात्रै सुनसरीमा ५३, मोरङमा ९, झापामा ४, तेह्रथुममा ५, भोजपुरमा ४, ताप्लेजुङमा एक र खोटाङमा एक जना डेंगुका बिरामी फेला परेका छन् ।
कोशी प्रदेशको सोलुखुम्बु, उदयपुर र पाँचथरबाहेक सबै जिल्लामा डेंगुका बिरामी भेटिएका छन् । सबैभन्दा बढी बिरामी सुनसरीमा रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका स्वास्थ्य निरीक्षक कुलप्रसाद पौडेलले झापामा बिरामी देखिन थालेको बताए । प्रादेशिक अस्पताल भद्रपुरमा डेंगुका बिरामीको उपचार भइरहेको र डेंगु फैलिन नदिन जनचेतना कार्यक्रम सञ्चालनको तयारी भइरहेको उनले बताए ।
Discussion about this post