मेचीनगर, ९ साउन । निर्वाचन आयोगले चुनाव खर्चको विवरण सार्वजनिक नगर्ने झापाका ५३ जना उम्मेद्वारलाई १५ हजारका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।
आयोगको मंगलबार बसेको बैठकले तोकिएको समयमा निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै सो जरिवाना गर्ने निर्णय गरेको हो ।
झापा क्षेत्र नं.–१ (१) का निर्वाचित प्रदेश सभा सदस्य गोपाल तामाङले निर्वाचन खर्च सार्वजनिक नगरेको भन्दै आयोगले १५ हजार जरिवाना गर्ने निर्णय गरेको छ । सांसद तामाङसहित झापा क्षेत्र नं.–१ का १९ जना उम्मेद्वारहरुलाई जरिवाना गरेको हो ।
आयोगले सांसद तामाङसहित झापाका ५३ जना उम्मेद्वारलाई जरिवाना गर्ने निर्णय गरेको छ ।
निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ जना र प्रदेश सभातर्फका १३९८ गरी कुल २४३५ जना उम्मेदवारहरूलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
जरिवाना लागेका उम्मेदवारले ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचर सहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न आदेश दिने निर्णय गरेको छ ।
निर्वाचन खर्चको विवरण ७ (सात) दिनभित्र सार्वजनिक गरी सोको जानकारी सम्बन्धित निर्वाचन कार्यालयमा ७ (सात) दिनभित्र निवेदन सहित पेश गर्न पुनः आदेश दिने निर्णय पनि भएको आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
साथै, जरिवाना बापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदवारहरूलाई तत्काल हुने एउटा चुनावमा भाग लिन नपाउने गरी रोक लगाउने निर्णय गरेको आयोगले जनाएको छ ।
Discussion about this post