झापा, ९ साउन । नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको १०औं स्मृति दिवस बिर्तामोडमा मनाइएको छ ।
नरबहादुर कर्माचार्य मोमोरियल फाउण्डेशन (एनविके) बिर्तामोड–२ को आयोजनामा आज प्रतिष्ठानमा स्मृति दिवस मनाइएको हो ।
स्व.नेता कर्माचार्यको तस्वीरमा फुलगुच्चाले माल्यपर्ण गरी उनले समाज रुपान्तरणका लागि खेलेको महत्पूर्ण मुमिका तथा योगदानको चर्चा गर्दै एनबिकेले स्मृति दिवस मनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षतामा भएको स्मृति सभा कार्यक्रममा कोशी प्रदेश सांसद तथा पूर्व भौतिक पूर्वाधारमन्त्री दुर्गा चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा स्वागत तथा एनविके टेक्निकल कलेजको बिषयमा प्रशिक्षक सुधिर दासले प्रकाश पारेको कार्यक्रममा प्रमुख अतिथि चापागाई, प्रतिष्ठानका सल्लाहकार तथा प्रदेश पूर्व कृषिमन्त्री झलकसिंह दर्लामी, संबिधानसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) झापा सचिव मोहन टुडु (सरोज) लगायतले संस्थापक नेता कर्माचार्यको योगदानको चर्चा गरेका थिए ।
प्रतिष्ठानका अध्यक्ष ज्योतिसिंहले नेता कर्माचार्यको जीवनीको चर्चा गरेको कार्यक्रमको सञ्चालन एनबिकेका सहायक प्रिन्सिपल बिष्णु चुडालले गरेका थिए ।
कार्यक्रममा प्रतिष्ठानका सञ्चालक समिति सदस्य तथा नेकपा माओवादी केन्द्र बिर्तामोड नगर उपाध्यक्ष जेबी जबेगु, पार्टीका नगर उपाध्यक्ष कमलप्रसाद कडरिया, सचिव गणेश कालिकोटे, पार्टीको प्रदेश निर्वाचन क्षेत्र नं.२ (१) का संयोजक प्रकाश भट्टराई, शिक्षक–शिक्षका, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानले तीन बर्ष अघिदेखि सीटिइभिटीसँगको साझेदारीमा प्राविधिक शिक्षा अन्तरगत वाली विज्ञान, पशु विज्ञान, वन बिज्ञान र होटल म्यानेजमेन्ट विषयमा अध्यापन गराउँदै आएको छ ।
Discussion about this post