झापा, १० साउन । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको विवादको सुनुवाइ सकेको छ । अव मुद्दा विहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ ।
दुवै पक्षको सुनुवाइ सकेपछि न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखेको हो ।
लिखित जवाफ आइसकेको र मुद्दाको अंग पनि पुगेकाले सर्वोच्च अदालतले विहीबार अन्तिम आदेश नै गर्ने स्रोतको दावी छ ।
कोशी प्रदेशमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दावी पेश गरेका थिए । सोही दावीका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
तर नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सभामुख निष्पक्ष भूमिकामा रहनुपर्ने भएकाले मुख्यमन्त्री नियुक्तिका लागि समर्थन गर्न नमिल्ने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
उनले थापालाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय बदर गर्न माग गर्दै आफूलाई नियुक्त गर्न परमादेश माग गरेका थिए ।
Discussion about this post