धुलाबारी, १३ साउन । मेचीनगर-९ स्थित तीनतिरे चोकलाई अवको चियावाल्नी गाउँ नाममा नामाकरण गरिएको छ ।
आज स्थानीयहरुको आम भेलाले विगतको इतिहासलाई जीवन्त राख्दै पुरानै नाम राखेर नमुना भिलेज बनाउने अभियानमा गाउँले जुट्ने भएका हुन् ।
आजभन्दा ८० वर्ष अगाडि चियावाल्नी गाउँमा एक महिलाले चिया बेच्ने गरेको इतिहास छ ।
पछि उक्त ठाउँलाई चियावाल्नी गाउँ भनियो । विस्तारै उक्त ठाउँको पहिचान मेटिएपछि स्थानीयले सो गाउँलाई चियावाल्नी गाउँको रुपमा चिनाउने अभियान सुरुवात गरेका हुन् । उक्त गाउँलाई नमूना गाउँको रुपमा विकास गर्ने योजना अघि सारिएको छ ।
आजैबाट चोकमा ‘चियावाल्नी गाउँमा तपाईंहरुलाई स्वागत छ’ लेखिएको बोर्ड राखिएको छ । बोर्डमा बस्ती बसाल्ने मृत्यु भइसकेका अग्रजहरुको फोटो अंकित छ ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले राम्रो कामको सुरुवात भएको बताए । उनले अग्रजहरुको सम्मान गर्ने संस्कार सुरु गरेकोमा चियावाल्नी गाउँबासीहरुलाई धन्यवाद पनि दिए । उनले समग्र मेचीनगरमा कृषि, शिक्षा लगायतका क्षेत्रमा केही न केही काम भइरहेको जानकारी दिए ।
कार्यक्रममा मेचीनगर वडा नं. ९ का वडाध्यक्ष कञ्चन तामाङ, कविशिरोमणि मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष संगीता थापा, थोप्लेविरान सामुदायिक वन समूहकी सचिव जानुका ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही अवसरमा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । ज्येष्ठ नागरिक पशुपतिनाथ भट्टराई, हरिप्रसाद कट्टेल, भीमबहादुर भुजेल, रामप्रसाद दाहाल लगायत दर्जन बढीलाई सम्मान गरिएको थियो ।
स्थानीय अगुवा चन्द्रमणि पौडेलले चियावाल्नी गाउँको खोज तथा इतिहासका बारेमा जानकारी गराएका थिए ।
स्थानीय श्याम पाठकको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत स्थानीय समाजसेवी पुष्प खतिवडाले र सञ्चालन होमनाथ पौडेलले गरेका थिए ।
Discussion about this post