काँकरभिट्टा, १३ साउन । भन्सार छलेर ल्याइएको आशंकामा प्रहरीले मेचीनगर–६ स्थित ट्राफिक पोष्ट छेउबाट कन्टेनर नियन्त्रणमा लिएको छ ।
ना ६ ख ४९०२ नम्बरको नेपाली प्लेटको कन्टेनरबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाले शुक्रबार राति ७ वजे बाजा बजाउने झाम्टा, हुक्का तान्ने सामानको सिसा, साबुनसहित कन्टेनर नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची भन्सार कार्यालय परिसरबाट ५०० मिटर पश्चिम ट्राफिक पोष्ट छेउमा उक्त सामानहरुसहित कन्टेनर नियन्त्रणमा लिएको इप्रकाका डीएसपी दिपक भारतीले जानकारी दिए ।
चेकजाँचका क्रममा सो समानहरुको भन्सार तिरेको रसिद नभएको र चालक फरार रहेकोले गाडी नियन्त्रणमा लिइएको उनले बताए ।
नियन्त्रणमा लिइएका कन्टेनरमा ७२ हजार मुल्यको कोको जिल ६० कार्टुन, २० लाखको अफजल फेलेवर ८० कार्टुन, ७३ लाख ९५ हजार बराबरको दुई हजार ४ सय ६५ केजी काँसको झाम्टा र १२ हजार ५ सयको २५ कार्टुन बारबरको लुगाधुने तेलीफोन साबुन कन्टेनरमा रहेको प्रहरीले जनाएको छ ।
१ करोड १ लाखको सामान र २० लाखको गाडीसहित १ करोड २१ लाख २७ हजार ५ सय मुल्य राखि आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाउन पठाइएको डीएसपी भारतीले बताए ।
मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भन्सारबाट निस्किएको सामान सहितको कन्टेनर भन्ने थाहा नभएको बताए । प्रहरीले बाहिर कन्टेनर नियन्त्रणमा लिएको जानकारी भएको बताए ।
‘सामान के के छन् थाहा भएन’ भन्सार प्रमुख रेग्मीले भने–‘कन्टेनर भित्रको काँसको झाम्टाको भन्सार गरेको छ भन्ने सुनेको छु । अन्य सामानको थाहा भएन । कन्टेनर भन्सारबाट बाहिरिएको नभइ ढुवानी (ट्रान्सपोर्टेसन)को हुनसक्छ । भन्सार प्रमुख रेग्मी अहिले विदामा रहेका छन् ।
मेची भन्सार कार्यालयका निमिक्त प्रमुख पूर्ण लम्सालले सामान सहितको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको बुझेको बताए । तर, उक्त सामानहरु भन्सार गरेको वा नगरेको विषयमा जानकारी नभएको बताए ।
साउन १ गतेदेखि लागू हुने गरी १०० सय रुपैयाँ भन्दा बढीको सामानको भन्सार लाग्ने भनेर राज्यले कानून लगाउने तर ठुला कन्टेनर चाहिँ भन्सार आसपास विना भन्सार गरेको गाडी भेटिनु कतिको जायज हो भनेर स्थानीयबासीले प्रश्न गरेका छन् ।
(शव्द÷फोटो : अर्जुन कार्की)
Discussion about this post