झापा, १४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एक महिनापछि लाखौं जनतालाई सडकमा उतार्ने बताएका छन् ।
आज सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रचण्डले भने, ‘केही दिनपछि, बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ । जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो ।’
राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विपक्षमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डले बताए ।
प्रधानमन्त्री प्रचण्डले सरकार कति समय टिक्छ भन्नेमा आफ्नो चिन्ता नरहेको र आफू सरकार जोगाउन जे पनि गर्ने पक्षमा नरहेको बताए ।
‘मैले सरकारको नेतृत्व गर्दै गर्दा १५ दिन भए पनि ठीकै छ, १ महिना भए पनि ठीकै छ । राम्रो कामको सुरुवात गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु, नेपाली जनताले पनि हेर्छन’ उनले भने, ‘मलाई सरकार छोड्न गाह्रो मान्ने मान्छे पनि होइन म ।’
पछिल्लो समय भ्रष्टाचार विरुद्धको कारवाहीमा कांग्रेस, एमालेलाई लक्षित गरेको र माओवादीलाई जोगाएको भन्ने आरोपमा सत्यता नरहेको पनि उनले बताए ।
‘आफ्नालाई बचाउँछ, एमाले र कांग्रेसका नेतालाई मात्रै थुन्छ भन्ने आरोप ममाथि लगाइयो । त्यो सत्य हैन, मैले त अनुसन्धान गर्दै जाँदा माओवादी त परको कुरा म आफैं स्वयम प्रचण्ड नै मुछिए पनि नछोड्न सीआईबीलाई निर्देशन दिएको छु ।’
Discussion about this post