।। अर्जुन कार्की ।।
झापा, २० साउन । २०७९ सालको स्थानीय तहको चुनावमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित मीनादेवी पासवानले दलित महिला केन्द्र नेपालले सञ्चालन गरेको ‘शी लिड्स’ कार्यक्रममा सहभागी नभएको भए घुम्टो ‘घुङ्घट’ बाट बाहिर निस्कन नपाउने बताएकी छिन् ।
आज बिर्तामोड स्थित सिदार्थ होटलमा दलित महिला केन्द्र नेपालले ‘शी लिड्स’ कार्यक्रम अन्तरगत राजनीतिक दलमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धि व्यवस्था र कार्यान्वयन अन्तर विषयक अन्तरक्रिया कार्यक्रममा वडा सदस्य पासवानले यस्तो कुरा बताएकी हुन् ।
उनी २०७९ सालको स्थानीय तहको चुनावमा एमालेबाट गौरीगञ्ज गाउँपालिका–३ बाट वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् ।
‘एमालेले मलाई वडा सदस्यको टिकट दियो’, पासवान भन्छिन्–‘जनताले जिताए । वडा सदस्य भनेकै थाहा थिएन । तर, ‘शी लिड्स’ तालिमले मलाई जनप्रतिनिधि भनेको के हो भनेर चिनायो ।’ ‘एमालेले टिकट र दलित महिला केन्दले ‘शी लिड्स’ तालिम नदिएको थियो भने म आज ‘घुङ्घट’ बाट बाहिर निस्कन सक्ने थिइन्’–उनले भनिन् ।
हाम्रो जातका महिलाहरु प्रायः घरभित्रै साडीले टाउको छोपेर ‘घुङ्घट’ बस्ने चलन रहेको उनको भनाई छ । उनले ‘शी लिड्स’ को तीन पटकको तालिमले ‘घुङ्घट’ बाट मुक्त भएको बताइन् । यी वडा सदस्य त एकजना प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता दलित तथा महिला वडा सदस्यहरुको अवस्था पनि उस्तै छ ।
२०७४ सालको स्थानीय तहको चुनावमा दमक नगरपालिका–७ बाट वडा सदस्यमा निर्वाचित गायत्रा लामिछाने घिमिरेले महिलाले घरको चुलाचौका मात्र गर्ने होइन समाजका लागि महलिाहरु पनि अब अघि बढ्नु पर्ने बताइन् ।
कल्पना राई २०७९ सालको स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट कमल गाउँपालिका–२ बाट वडा सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन् । उनले थाहा नपाइकन जनप्रतिनिधि भएको बताइन् । ‘शी लिड्स’ को तालिमले अब आउने ०८४ सालको चुनावमा पार्टीले सहयोग गरे वडाध्यक्ष वा मेयर हाक्न सक्ने हिम्मत बढेको बताइन् ।
२०७९ सालको स्थानीय तहको चुनावमा अर्जुनधारा नगरपालिका–८ बाट नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा चुनाव जित्ने एक्ली महिला उम्मेद्वार हुन् सरु बुढाथोकी ।
उनले संविधानले छुवाछुत अन्त्य भएको भन्ने अनि कुनै पनि संघ–संस्था वा पार्टीको अध्यक्ष पद नदिने जहिलै महिलालाई कोषाध्यक्ष बस भन्नु पनि विभेद भएको दावी गरिन् । समाजमा बामे सरिरहेको व्यक्तिलाई यहाँसम्म पुर्याउने काम ‘शी लिड्स’ को तालिमले गरेको बताइन् ।
कार्यक्रममा बुद्वशान्ति गाउँपालिका–३ की वडा सदस्य नर्मदा चापागाई, बिर्तामोड–२ की वडा सदस्य लीला गौतम, बिर्तामोडकी पूर्व वडा सदस्य नीता घतानी लगायतले ‘शी लिड्स’ को तालिमले नै जनप्रतिनिधि भएर काम गर्न थप उर्जा प्रदान गरेको धाराणा राखेका थिए ।
कार्यक्रममा दलित महिला केन्द्र नेपालकी संस्थापक अध्यक्ष एवम् वर्तमान महासचिव गौरा नेपाली, उपाध्यक्ष लक्ष्मी परियारले सबै दलहरुले अब महिलाहरुलाई हेर्ने दृष्टीकोणमा परिवर्तन गर्नु पर्ने बताएका छन् । दलित तथा महिला वडा सदस्य र समग्र महिलाहरुलाई अबको चुनावमा ३३ प्रतिशत उम्मेद्वार बनाउन आग्रह गरेका थिए ।
कार्यक्रममा एमाले झापा अध्यक्ष दिपक कार्कीले समावेशी बनाउन निर्वाचनको समानुपातिक प्रणाली खारेज गर्नुपर्ने बताए । उनले सबै पदमा प्रतिशतको आधारमा महिलालाई आरक्षणको कोटा दिर्नु पर्ने बताए ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले सामानुपाति समावेशी निर्वाचन गर्नुपर्ने दावी गरे । उनले आरक्षणको पनि चुनाव हुनु पर्ने माग गरेका छन् ।
राप्रपा झापा सचिव कुमार थापाले आरक्षणको खुलेरै विराध गरे । उनले आरक्षण भन्ने कोटा नै हटाउनु पर्ने बताए । पार्टीले महिलालाई ५० प्रतिशत र वडा कमिटीदेखि केन्द्रसम्म उपाध्यक्ष पद दिएको उनको भनाई छ । नेकपा माओवादी केन्द्र झापाका सचिवालय सदस्य माधव अर्यालले निर्वाचन प्रणाली पूर्ण समानुपातिक हुनु पर्ने दावी गरे ।
जसपाका झापा इन्चार्ज एवम् केन्द्रीय सदस्य धनप्रसाद गुरुङले जसपाका झापा इन्चार्ज एवम् केन्द्रीय सदस्य धनप्रसाद गुरुङले लैङ्गिक समानता मात्र होइन आर्थिक समानताको पनि खोजी गर्नुपर्ने बताए ।
सदस्य एवम् सामाजिक अभियन्ता रुद्र सिटौलाले महिलाहरुको ३३ प्रतिशत अधिकारको कुरा माथि मन्त्रीपरिषद्बाटै कार्यान्वयन गर्नु पर्ने दावी गरे । नेपाली कांग्रेस झापाका सदस्य धर्म लक्सम्बाले कांग्रेसले ३३ प्रतिशत महिलाको अधिकार सुरक्षित गर्न लागि परेको बताए ।
त्यस्तै पूर्व जनप्रतिनिधि डिल्लीराम घिमिरेले सबै पार्टीका दस्तावेजमा सो अधिकार भए पनि अहिलेसम्म कार्यान्वयन नभएकोमा चिन्ता व्यक्त गरेका थिए ।
दलित महिला केन्द्र नेपालले ‘शी लिड्स’ अन्तरगत २०७४ र २०७९ सालमा पहिलो र दोस्रो कार्यक्रम गरिसकेको छ भने २०८० सालको साउन महिनामा झापाको ८ वटा पालिकामा तेस्रो चरणको कार्यक्रम पनि सम्पन्न भइसकेको मुख्य प्रशिक्षक सोमराज ढकालले जानकारी दिए । अब एडभान्स प्रकारको कार्यक्रम चाँडै गरिने उनको भनाई छ ।
महासचिव गौरा नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत झापा संयोजक सम्झना पोखरेलले गरेकी थिइन् । कार्यक्रमको सहजिकरण मुख्य प्रशिक्षक ढकाल र प्रशिक्षक पुनम मण्डलले गरेका थिए ।
Discussion about this post