काँकरभिट्टा, २४ साउन । महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि मेचीनगरमा किसानले आफ्नै खर्चमा प्रभावित गाईभैँसीलाई खोप लगाउन सुरु गरेका छन् ।
गत चैत महिनामा देखिएको रोगका कारण गाई वस्तु मर्ने र रोगको संक्रमण बढ्दै जाने क्रम भएपछि नगरपालिकाको प्राविधिक सहयोगमा किसानले आफ्नै खर्चमा खोप खरीद गरी लगाउन सुरु गरेका हुन् ।
किसानले बिर्तामोडको मेची एग्रो र चन्द्रगढीकोे सदाबहार एग्रोबाट जोडर्न कम्पनीको कम्पीशिल खोप १५० रुपैयाँ गोटाले खरीद गरेर
नगरपालिकाको प्राविधिक सहयोगमा मेचीनगरको विभिन्न वडामा खोप लगाउने कार्य भइरहेको छ ।
नगरपालिकाका पशु प्राविधिक छत्रबहादुर राईले मेचीनगर–७, ८, ९, ११, १३, १४ र १५ नम्बर वडाका एक वर्षमाथिका विरामी परेका गाईका बाँछा र बाँछीमा ९०० वटा खोप लगाइसकिएको बताए ।
नगरमा दुई हप्तादेखि दैनिक विहान–बेलुका खोप लगाउन सुरु गरिएको छ ।
किसानले खरिद गरेर ल्याएका खोप नगरपालिकाका र वडामा रहेका पशु प्राविधिकहरुको सहयोगमा लम्पी स्किन रोग देखा परेका बाँछाबाँछीहरुमा लगाइएको राईको भनाई छ ।
‘मेचीनगरमा गाईभैँसीमा भन्दा पनि बाँछाबाँछीमा यो रोगको संक्रमण बढ्दो छ’, राईले भने–‘१३ वटा बाँछाबाँछी मरिसके । करिव ८० वटा बाँछाबाँछी विरामी परेका छन् ।’
उनका अनुसार २ वर्षअघि पनि यो रोग मेचीनगरका गाईभैँसीमा देखा परेको थियो । त्यसबेला यहि प्रकृतिको खोप गाईभैँसीमा लगाइएकोले गर्दा यसपटक बाँछाबाँछीमा मात्र देखा परेको उनको दावी छ ।
चार महिनादेखि मेचीनगरका विभिन्न वडामा किसानले पालेको गाई र भैसीमा ‘लम्पी स्किन डिजीज’ रोगको संक्रमण फेला परेको थियो ।
रोगका कारण पशुको ह्याकुला, पेटमा पानी जम्ने, खुट्टाको हाडजोर्नी सुन्नीने, दुग्धको उत्पादन घट्दै जाने, पशुमा ज्वरोको मात्रा उच्च हुने जस्ता लक्षण देखिने गरेको थियो ।
Discussion about this post