काँकरभिट्टा, २४ साउन । झापा जिल्ला क्रिकेट संघले दर्जनौँ खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।
आज काँकरभिट्टा स्थित खानेपानी संस्थाको सभाहलमा आठौँ साधारण सभा तथा जिल्ला अधिवेशनको आयोजना गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडीदेखि प्रशिक्षकलाई संघले सम्मान गरेको हो ।
कोशी प्रदेशका सांसद गोपाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खेलाडीहरु रुविना क्षेत्री, सबनम राई, काजल श्रेष्ठ, संगीता राई, लकिता राजवंशी, निङ्मा तामाङ, दिपु भुजेल, ज्योती दर्नाल र रोमा थापालाई सम्मान गरिको थियो भने प्रशिक्षकहरु विरु श्रेष्ठ र लाक्पा तामाङलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तामाङले मेचीनगरमा आवश्यक खेल मैदानको अभाव रहेको बताए । मेचीनगर खेल क्षेत्रको उर्वरभूमि भएको चर्चा गर्दै तामाङले खेल क्षेत्रमा अझ लगानीको खाँचो रहेको औंल्याए ।
‘मेचीनगरमा विद्यालयका खेल मैदान पर्याप्त छन्,’ उनले भने, ‘तर सबैजसो खेल मैदान विवादमा छन् । विवाद समाधान गरेर खेल क्षेत्रको विकासमा लाग्नु हामी सबैको दायित्व हो ।’
कार्यक्रममा मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नाइट चेस क्लबका अध्यक्ष राजु कार्की, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शंकर थापा, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, होटल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेश श्रेष्ठ (गोपाल), मेची उद्योग वाणिज्य संघ मेचीनगर अध्यक्ष खेमराज प्रसाईं लगायतको आतिथ्यता रहेको थियो ।
झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सचिव लाक्पा तामाङले र सञ्चालन पूर्व जिल्ला सदस्य तुलसी कार्कीले गरेका थिए ।
अधिवेशनले नयाँ समिति निर्माण गर्दैछ । फेरि पनि क्रिकेट संघ झापामा प्रविण थापा अध्यक्ष बन्ने निश्चित भएको छ ।
Discussion about this post