झापा, १ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले भ्रष्टाचारका सबै फाइल खोल्ने हो भने औंलामा गन्न सकिने नेताहरु मात्र जेल बाहिर बताएका छन् ।
आज बिर्तामोडको सीटी सेन्टरमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘तीन वटा फाइल खुल्दा त यो हालत छ,’ रास्वपा अध्यक्ष एवम् सांसद् लामिछानेले भने–‘भ्रष्टाचारका सबै फाइल खुल्ने हो भने दलका अधिकांश नेताहरुलाई जेल बाहिर भेटिदैनन् ।’
उनले पुराना राजनीतिक दलहरु भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए र आगामी ०८४ को आम चुनावमा रास्वपाका उम्मेद्वारहरुलाई जिताएर जनताले पुराना दललाई घण्टी बजाइदिने उद्घोष गरे ।
पुराना दलहरुप्रति निकै आक्रामक भएका उनले नेतालाई सम्पत्ति जोड्न र सुविधा सम्पन्न मात्र बनाउन अहिलेसम्म राजनीति गरिरहेको टिप्पणी गर्दै उनीहरु नसुध्रिने बताए ।
रास्वपाका अध्यक्ष लामिछाने संगठन विस्तार अभियान लिएर महामन्त्री मुकुल ढकाल, सांसद् सन्तोष परियार, सांसद् निशा डाँगी लगायतका नेताहरुको जम्बो टोली विहीबार काठमाडौंबाट झापा हुँदै इलाम गएका थिए ।
उनले इलामको फिक्कलमा एउटा जनसभामा भाषण गरे । शुक्रबार बिर्तामोड, दमक, गौरादह र गौरीगञ्जका सभामा सहभागी भएका थिए । शनिबार पनि नेताहरु झापाका धेरै स्थानका कार्यक्रममा पुग्ने पार्टीका झापा सभापति उमेश खरेलले बताए ।
शनिबार मेचीनगर–७ स्थित वडा कार्यालय अगाडिको चोकमा पनि पार्टीको आमसभा रहेको छ ।
Discussion about this post