मेचीनगर, ६ भदौ । पूर्वमा नै पहिलो पटक काँकरभिट्टामा होटल व्यवसायी संघ मेचीनगर समितिको आफ्नो भवन निर्माण भएको छ ।
मेचीनगर–६ स्थित काँकरभिट्टामा ५ धुर जग्गामा एकतले पक्का भवन निर्माण भएको हो ।
उक्त भवनको विहीबार विहान एक कार्यक्रमका बीच उद्घाटन हुँदैछ । भवनको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकीले गर्ने भएका छन् ।
२०७९ फागुन १५ गते भवनको शिलान्यास मेयर बुढाथोकीले नै गरेका थिए । शिलान्यास कार्यक्रममा उपमेयर मीना पोखरेल उप्रेती र वडा नम्बर १० का वडाध्यक्ष ललितबहादुर तामाङ साक्षी रहेका थिए ।
२१ लाखमा रुपैयाँमा निर्माण भएको उक्त भवनका लागि नगरपालिकाले १० लाखमा कर काटेर ८ लाख ५० हजार सहयोग गरेको होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल) ले जानकारी दिए ।
५०० कार्टुन वियर होटल व्यवसायीहरुलाई बेचिदिँदा गोरखा ब्रुअरी कम्पनीले भवन बनाउन ५ लाख सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए ।
भवन बनाउन बाँकी रकम मेचीनगरका होटल व्यवसायीहरुले सहयोग गरेको उनको भनाई छ ।
टायल्स, फल्स्सिलिङ, रंगरोगन गरेर भवनलाई चिटिक्क पारिएको छ ।
‘होटल व्यवसायी संघ र महासंघको आफ्नो भवन काहिँ छैन’, अध्यक्ष श्रेष्ठले भने–‘संघको जग्गा छ, भवन काहिँ छैन । यो भवन नै पूर्वमा पहिलो पटक हो ।’
लाखे नाँचसहित भवनको भव्यरुपमा उद्घाटन गरिने तयारी रहेको सचिव हस्तबहादुर तामाङले बताए ।
Discussion about this post