मेचीनगर, ७ भदौ । मलेसियामा ६ वर्षदेखि सम्पर्कविहिन भएका काँकरभिट्टाका गोपाल घिमिरेको आमासँग फोनमा कुराकानी भएको छ ।
आज दिउँसो ३ वजे मलेसियाबाट गोपालले काँकरभिट्टा निवासी आमा सानी ढकाल घिमिरेसँग भिडियो कलमा कुराकानी भएको हो ।
१६ वर्षदेखि मलेसियामा रहेका गोपाल ६ वर्षदेखि परिवारबाट सम्पर्कविहिन भएका थिए ।
बुधवार मात्रै आमा सानी घिमिरेले प्रेस क्लब मेचीनगरको कार्यालयमा पत्रकारहरुसँगको भेटमा मलेसिया गएको ३७ वर्षका छोरा गोपाल घिमिरे ६ वर्षदेखि सम्पर्कविहिन भएपछि खोजी गरिदिन आग्रह गरेकी थिइन् ।
भिडियो भाइरल
सोहि विषयको भिडियो पत्रकार अर्जुन कार्कीको सामाजिक सञ्जालबाट भाइरल भएपछि सबैको ध्यानाकर्षण भएको थियो ।
सो भिडियो देखेपछि नेपाली कांग्रेसका महामन्त्री एवम् झापा–१ सांसद विश्वप्रकाश शर्माको ध्यानाकर्षण भएको थियो ।
शर्माले यस्तो कमेन्ट गरे :
यो भिडियो देख्नासाथ मलेसिया स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनिलाई पठाएर टेलीफोन सम्पर्क गरेको छु । मलेसिया स्थित नेपाली दूतावास, दूतावास मार्फत मलेशियन प्रहरी र त्यहाँ रहेका नेपाली संघसंस्था मार्फत गोपाल घिमिरेको खोजिका लागि अभियान शुरु गरिएको जानकारी गराउँदछु ! आमाले आफ्नो छोरा अनि पुरै परिवारले आफ्नो सदस्यसँगको मिलन चाँडै पाउने आशा राखौं ।
आशा राखौं उहाँ भेटिनु हुनेछ !
यो पोस्ट गर्नुहुने मित्र अर्जुन कार्की र अन्य सबै संचारकर्मी मित्रहरूलाई हृदयदेखि धन्यवाद !
– विश्वप्रकाश शर्मा
यसरी भेटिए गोपाल घिमिरे
सांसद शर्मा मार्फत मलेसियाको दूतावासको पेजमा मैले पोष्ट गरेको भिडियो राखेको रहेछ । उक्त भिडियो हेरेर एकजना अपरिचित व्यक्तिले मेरो वट्सर्वमा फोन गरेका थिए । मलाई फोन गर्ने मलेसियामा बस्ने पोखराका प्रताप थापा रहेछन् ।
उनले नै मलाई वट्सर्वमा गोपाल घिमिरेको फोटो र हामीसँगै छन् भन्ने खवर दिए । त्यसपछि गोपालको आमाको नम्बर उनलाई पठाईदिएको थिए ।
आमा–छोराको फोनमा गफ
आज दिउँसो ३ वजे छोरा गोपालले आमालाई भिडियो कल गरेका थिए । छोराको फोन आएपछि आमा खुशीले गद्गद् भएकी छन् । सानीका अनुसार छोराले मलाई यहाँ अपठेरो छ । मलाई नेपाल झिकाईदिनु होस् । छोराको कुरा सुनेपछि सानीले मलाई जानकारी गराउनु भएको थियो ।
भोलि पंगेनीसँग गोपालको भेट हुने
मैले मलेसियामा रहेका गोपाल, उनका साथि प्रताव र इलामका कृष्ण खतिवडासँग कुराकानी गरे र सबैकुरा बुझे । कुरा भइरहेको बेला प्रतावसँग नेपाली जनसम्पर्क समितिका अध्यक्ष चोलाकान्त पंगेनीले पनि फोन गरेर बुझ्ने काम भएको छ । भोलि (शुक्रवार) पंगेनीसँग गोपाल र प्रतावसँग भेट हुने कुरा भएको छ ।
गोपाल दशैँमा घर आउने
यसैबीच विश्वप्रकाश शर्माले मलाई फोनमा भने–‘सर्वप्रथम तपाईलाई धन्यवाद छ । तपाईले पोष्ट गरेको भिडियो सम्बन्धीत ठाउँमा पुर्याए । हाम्रा साथीहरुसँग गोपाल घिमिरेको सम्पर्क भइसक्यो । गोपालको ट्राभल डकुमेन्ट बनाउन समय लाग्ने भएकाले दशैँमा नेपाली जनसम्पर्क समिति र मेरो खर्चमा नेपाल आइपुग्ने शर्माले जानकारी दिए ।
शर्माले भने–‘गोपाल दशैँमा घर आएपछि तपाई, म र गोपालसँगै आमा (सानी घिमिरे) को हातको टिका लगाउँने छौँ । उनका अनुसार त्यो कुरा आमालाई सुनाईदिँदा हुन्छ ।
Discussion about this post