मेचीनगर, १५ भदौ । मेचीनगर-९ स्थित कविशिरोमणि माविमा अभिभावकहरूले ज्ञापन पत्र बुझाएका छन् ।
१० वटा माग राख्दै विद्यालय पुगेका अविभावक तथा सरोकारवालाहरुले विगतमा शैक्षिक गुणस्तरकै कारण अब्बल रुपमा स्थापित विद्यालय अहिले आएर राजनीति तथा चरम गुटबन्दीका कारण भद्रगोल बनेको दावी गर्दै आज ज्ञापन पत्र बुझाएका हुन् ।
‘विगतमा यस विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा परिचित छ । तर, केही बर्ष यता विद्यालयको प्रशासनिक कमजोरीका कारण विद्यालय भद्रगोल अवस्थामा पुगेको छ,’ ज्ञापन पत्रमा भनिएको छ ।
ज्ञापन पत्रमार्फत वर्तमान प्रधानाध्यापकले राजीनामा दिनुपर्ने माग समेत गरिएका छ । विद्यालयमा वर्तमान प्रधानाध्यापकका रुपमा कृष्णप्रसाद अधिकारी छन् । अविभावकहरुले यदि उक्त मागहरु सुनुवाइ नभए आगामी दिनमा सशक्त कदम चाल्न वाध्य हुने चेतावनी समेत दिएका छन् ।
विद्यालय परिसर पुगेको अविभावकहरुको टोलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संंगीता थापालाई उक्त ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै अध्यक्ष थापाले अविभावकहरुले राखेको माग जायज भएको बताइन् । साथै उक्त मागप्रति गम्भीर भएर लाग्ने उनले बताइन् ।
दस वटा मागहरूमा विद्यालयका प्रधानाध्यापकका कारण शैक्षिक वातावराण धुमिल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने, आउँदो शैक्षिक सत्रबाट विद्यालय भर्ना अभियानलाई व्यापक बनाई विद्यार्थीको उत्कृष्ट शैक्षिक थलोको रुपमा विकास गर्नुपर्ने, विद्यालयको नियमित अनुगम गरिनुपर्ने, शिक्षक- कर्मचारीबीचमा देखिएको गुटबन्दी अन्त्य गरिनुपर्ने, विद्यालय प्रशासन र अभिभावकबीचकाे सहकार्यलाई सुमधुर बनाइनु पर्ने, कक्षा काेठामा माेवाइल प्रतिबन्ध गरिनु पर्ने, विद्यार्थीकाे शैक्षिक मुल्यांकन हरेक महिना सार्वजनिक गरिनु पर्छ, साप्ताहिक टेष्ट अनिवार्य गरिनुपर्ने, कमजाेर विद्यार्थीका लागि अतिरिक्त कक्षा (काेचिङ) काे व्यवस्था गर्नु पर्ने र विद्यार्थी , शिक्षक र कर्मचारीले अनिवार्य पाेषाक लगाउनु पर्ने तथा अनुशासनमा वस्नु पर्ने रहेका छन् ।
विद्यालय प्रशासनको कमजोरीका कारण शिक्षकहरुबीच गुट-उपगुट हुँदा शैक्षिक गुणस्तर कमजोर देखिएकाले सुधारका निम्ती सरोकारवालाहरुले प्रयास गरेको सञ्चारकर्मी समेत रहेका स्थानीय झुलन रेग्मीले बताए ।
Discussion about this post