काँकरभिट्टा, १९ भदौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा जारी अन्तर क्याम्पस टी–१० क्रिकेट प्रतियोगिता अन्तरगतको आजको पहिलो खेलमा गोमेन्द्र बहुमुखी क्याम्पसले कोहेड क्याम्पसलाई ६ विकेट तथा कनकाई क्याम्पस बिर्तामोडले हिमालयन बहुमुखी क्याम्पसलाई ७ विकेटले पराजित गरी क्वाटरफाइनलमा आ–आफनो स्थान पक्का गरेको छ ।
मंगलबार पहिलो खेल अन्तरगत कोहेडले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित १० ओभरको खेलमा सबै विकेट गुमाउँदै ६२ रनको योगफल तयार पारेको थियो । कोहेड क्याम्पसका लागि राजु शाहले १८ रनबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । बलिङतर्फ गोमेन्द्र क्याम्पसका सौगात बरालले ३, विकास साम्पाले २, पर्वत बानले २, प्रकार कट्वालले १ विकेट लिएका थिए ।
६३ रनको लक्ष्य लिई मैदानमा ओर्लेको गोमेन्द्र बहुमुखी क्याम्पसले ८ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्याएको थियो । गोमेन्द्रका लागि देवन क्षेत्रीले २४ रनको योगदान दिएका थिए । बलिङतर्फ कोहेड बहुुमुखी क्याम्पसका लागि सन्दिप कट्वालले १, अभिकेष तामाङ्गले १, सागर शाहले १, कौशल घिमिरेले १ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच गोमेन्द्र बहुमुखी क्याम्पसका बिबस साम्सोहा घोषित भएका थिए ।
मंगलबार नै सम्पन्न दोश्रो खेल अन्तरगत हिमालयनले टस हारेर पहिलो ब्याटिङ्ग गर्दै निर्धारित १० ओभरको खेलमा ९ विकेट गुमाउँदै ४६ रनको योगफल तयार पारेको थियो । हिमालयन क्याम्पसका लागि नारायण घिमिरेले ८, अन्सु लिम्बुले ७, देव थापाले ७ रनको योगदान दिएका थिए ।
बलिङतर्फ कनकाई बहुमुखी क्याम्पसका भिम सिटौलाले २, अभि थापाले २, मिलन अधिकारीले २, सन्तोष कार्की १, बिपिन कार्की ले १ विकेट लिएका थिए । ४७ रनको लक्ष्य लिई मैदानमा ओर्लेको कनकाई बहुमुखी क्याम्पसले ३ ओभर १ बलमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्याएको थियो ।
कनकाईका लागि प्रज्वल मैनालीले २९ रन, भिम सिटौलाले १६ रनको योगदान दिएका थिए । बलिंगतर्फ हिमालयन बहुुमुखी क्याम्पसका लागि बिराज राजवंशीले २, अभिषेक दाहाल १ वकेट लिएका थिए ।
खेलको प्लेयर अफ द म्याच कनकाई बहुमुखी क्याम्पसका भिम सिटौला घोषित भएका थिए ।
Discussion about this post