मेचीनगर, २२ भदौ । यहाँका पाँच राजनीतिक दलका प्रमुखहरूले दुई जना वडाध्यक्षलाई साक्षी राखेर वेथितिहरू अन्त्य गर्न नगरपालिकालाई सचेत गराएका छन् ।
मेचीनगर नगरपालिकामा भ्रष्टाचार, बेथिति, विकृति र बेमेलको अवस्था सिर्जना भएको भन्दै नियन्त्रण गरेर सुशासन कायम गर्न नगरपालिकालाई दलहरूले सचेत गराएका हुन् ।
आज साे दलका प्रमुखहरूले नेपाली कांग्रेसकाे धुलाबारी स्थित क्षेत्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर त्यस विषयमा जानकारी गराएका छन् ।
पाँचै दलका तर्फबाट यस विषयमा संयुक्त प्रेस विज्ञप्ति समेत जारी भएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, नेकपा माओबादी केन्द्रका क्षेत्रीय संयोजक माधव अर्याल, जनता समाजबादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, नेकपा एकीकृत समाजबादीका क्षेत्रीय अध्यक्ष भाष्कर घिमिरे र राप्रपाका क्षेत्रीय उपाध्यक्ष विश्वराज पोखरेलले हस्ताक्षर गरका छन् ।
´विगत केही दिनदेखि मेचीनगर नगरपालिकाका गतिविधि सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार र जनप्रतिनिधिहरु (वडाध्यक्ष) द्वारा भएको पत्रकार सम्मेलनमा व्यक्त प्रतिक्रियाहरुप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विगतदेखि श्रृंखलाबद्ध रुपमा अनियमितता, ढिलासुस्ती, जनप्रतिनिधि र कर्मचारीहरुबीचको अन्तरविरोध, कर्मचारीहरुबीचकै अन्तरविरोध लगायतका बेथिति समाधान गर्न नगरपालिकाको पटक-पटक ध्यानाकर्षण गराउँदा वेवास्ता गरिएको दलहरुकाे आरोप छ ।
दलहरुले नगरभित्र भइरहेको लापरवाही र बेथितिलाई टुलुटुलु हेरेर नबस्ने जनाउँदै नगर नेतृत्व समाधानतर्फ अग्रसर नभएमा जनभावनाको प्रतिनिधित्व गर्दै नगरपालिकाको गरिमा कायम राख्न आवश्यक पहल गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा मेचीनगर-६ का वडाध्यक्ष ललितबहादुर तामाङ र १५ का वडाध्यक्ष राजन भट्टराईकाे सहभागिता रहेकाे थियाे ।
नगरमा कांग्रेसकाे ३ जना र माओवादीका एक जनासहित ४ जना वडाध्यक्ष छन् । नगरमा एमालेकाे वहुमत छ ।
पत्रकार सम्मेलनमा नेकपा एमाले क्षेत्रीय संयाेजक टिकाराम मंग्रातीकाे सहभागिता रहेकाे थियाे । उनले सर्वदलीय वैठककाे समर्थन गरेका थिए ।
Discussion about this post