मेचीनगर, १४ असोज । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दिप भण्डारीले पूर्वी नाका काँकरभिट्टा खुल्ला सीमाका कारण सम्भावना भन्दा चुनौती बढीरहेको बताएका छन् ।
आज पूर्वी नाका निरीक्षणमा आएका एआईजी भण्डारीले जनताको अपेक्षा अनुसार अपराध नियन्त्रणमा समस्या हुने बताएका हुन् । भण्डारीले १६ देखि २५ वर्षका युवायुवतीहरु बढी अपराधमा संम्लग्न रहेको खुलेको बताए ।
नगरका विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुसँगको अन्तरक्रियामा लागूऔषध प्रयोगकर्ता, यसको समाधान, मानव बेचबिखन, लागुऔषध प्रयोगकर्ताको नियन्त्रण, तस्करी, नेपाल प्रहरी र ट्राफिक प्रहरीहरुको दरबन्दी थपको ब्यवस्थापन लगायतका विषयमा नागरिकसँग समन्वय गरेर अघि बढ्ने भण्डारीले बताए ।
अधिकांश वक्ताहरुले खुल्ला सीमामा अवसरभन्दा चुनौती धेरै देखिएको बताएका थिए । लागुऔषध नियन्त्रणका लागि एक्लो प्रहरीको चेकजाँचबाट सम्भव नहुने बताउँदै सीमा क्षेत्रमा लागूपदार्थ सेवन (लापसे) चेक पोइन्टको आवश्यक रहेको बताइएको छ ।
अन्तरक्रिया कार्यक्रममा प्रहरी नायक महानिरीक्षक (डीआईजी) राजेशनाथ बाँस्तोला, झापाका प्रहरी उपरीक्षक(एसपी) दुर्गाराज रेग्मी, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दिपक भारती लगायत प्रहरीहरुको सहभागिता रहेको थियो ।
त्यस्तै मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेचीनगर–७ का वडाध्यक्ष प्रल्लादमणि ओली, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल, माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरे, समाजसेवीहरु भुपाल शिवाकोटी, सुवर्ण भट्टराई, खडानन्द भण्डारी, रमेश गुरुङ, अनिता गुरागाई, गणेशकुमार खरेल, भीम लुइँटेल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
Discussion about this post