झापा, १५, असोज । दमक नगरपालिका–१, कुमाल चोकस्थित एक होटलमा केहि दिनअघि एक युवकलाई छुरा प्रहार गरी हत्या गरेको घटनाका मुख्य आरोपीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चुलाचुली–३ का ३८ बर्षीय गोविन्द लिम्बुको हत्यापछि प्रहरीले यसअघि अनुसन्धानका लागि ८ जनालाई नियन्त्रणमा लिएपनि मुख्य आरोपी दमक–७ सयपत्री टोलका २२ बर्षीय सनम राईसहित अन्य संलग्नहरु फरार थिए ।
सोमबार दिउँसो प्रहरीले मोरङको उर्लाबारी–१ टपुस्थित एक घरमा मोटरसाइकलसहित लुकेर बसेका मुख्य आरोपीसहित घटनामा संलग्न अन्य दुई जनालाई पनि पक्राउ गरेको छ ।
आज साँझ इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले घटनामा संलग्न मुख्य आरोपी सनमसहित दमक–१ स्थित नवदुर्गा टोलका २२ बर्षीय आनन्द भन्ने २२ बर्षीय राजकुमार भुजेल र दमक–७ राधाकृष्ण टोलका १८ बर्षीय रोहन भन्ने सवास आलमलाई पक्राउ गरिएको जानकारी दिए ।
मुख्य आरोपी राई, भुजेल र आलमलाई हत्याका पीडितको स्थायी ठेगाना इलाम चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ समेतको उपस्थितीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।
उनीहरुले प्रारम्भिक चरणमा दिएको बयान अनुसार राईसहितको तीन जनाको समुहले मदिराले लठ्ठ भएको अवस्थामा आपसी विवादका कारण लिम्बुको हत्या गरेको स्वीकार गरिसकेको प्रहरीको भनाई छ ।
दमकका डीएसपी मनोजकुमार लामाले हत्या हुँदा घटनामा प्रयोग भएको छुरा (हतियार) विराटनगरमा रहेको प्रारम्भीक बयानबाट खुलको थियो । सो हतियार प्रहरीसँगको समन्वयमा बरामद गरी दमकतर्फ ल्याउने प्रकृया चलिरहेको बताए ।
असोज १२ गते विहान ४ बजे सो घटना गराएर फरार भएका मुख्य आरोपीसहितलाई इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्मा, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव निरीक्षक रुद्र खडका र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले फेला पारेको थियो ।
प्रहरीले यसअघि सो घटनापछि अनुसन्धानका लागि घटनास्थल रुवेल माछा फ्राइका सञ्चालक विशाल कुमालसहित ८ जनालाई पक्राउ गरेको थियो ।
Discussion about this post