मेचीनगर, २२ असोज । उपभोक्ता जागरण अभियान नेपाल मेचीनगर समितिले मेचीनगर नगरपालिकालाई तीन बुँदे मागसहितको ध्यानाकर्षण गराएको छ ।
आज समितिका अध्यक्ष रचना घिमिरेको नेतृत्वमा गएको टोलीले नगरपालिकाका कार्यबाहक मेयर ह्दय राजबंशीलाई सार्वजनिक स्थलको एकसय मिटर भित्र सुर्तिजन्य पदार्थ बिक्री गर्न नपाउने, विद्यार्थीको दिवा खाजामा जङ्गफुड निषेध गर्ने र सरकारी अनुगमन प्रभावकारी बनाउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
अभियानले हालै मेचीनगर–६ को काँकरभिट्टा मावि, मेचीनगर–७ को आदर्श मावि र मेचीनगर–१० कोधुलाबारी माविमा अनुगमन गरेको थियो । सो क्रममा सार्वजनिक स्थलको एक सय मिटरको वरपर नै निर्वाध रुपमा सुर्तीजन्य पदार्थको बिक्री वितरण, विद्यालयका क्यान्टिन र शौचालय फोहोर भएको पाएको थियो ।
मेचीनगरका विद्यालय, क्याम्पस, अस्पताल, स्वास्थ्योपचार केन्द्र, धार्मिक तथा पर्यटकीय स्थल, नगरपालिकाको मुख्य प्रशासनिक कार्यालय, वडा कार्यालय लगायतका सार्वजनिक स्थलबाट एक सय मिटर भित्रको घर तथा पसलबाट सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउन अभियानले माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै कार्यबाहक मेयर राजबंशीले अभियानमा सहभागीहरुलाई नगरपालिकासँग हातेमालो गरेरअघि बढ्न आग्रह गरेका थिए । नगरपालिकाको तर्फबाट प्रमुख प्रसाशकिय अधिकृत टेकबहादुर रेग्मी, वरिष्ठ प्रसाशकिय अधिकृत अनन्तप्रकाश वस्ती, खाद्य अधिकृत दिपेन्द्र कार्की सहभागी थिए ।
त्यस्तै टोलीमा अभियानका जिल्ला अध्यक्ष मोहन काजी, उपाध्यक्ष निलकण्ठ तिवारी, सचिव विशाल थापा, सदस्य अर्जुन कार्की, नगर अध्यक्ष घिमिरे, सचिव निरु परियार, सहसचिव दीपा भट्टराई धिताल, कोषाध्यक्ष मीरा काफ्ले पोखरेल, सदस्य शुष्मा राजबंशी लगायतको उपस्थिति रहेको थियो ।
अभियानले सो मागहरु पुरा गर्न स्थानीय सरकारको ध्यानाकर्षणका लागि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो ।
Discussion about this post