मेचीनगर, २३ असाेज । परिवर्तन थिएटर झापाले आदिवासी समुदायकाे कथा समेटिएको ´म्लेच्छ` नाटक यहि असाेज २५ गतेदेखि मञ्चन हुने भएको छ ।
आज मेचीनगर-६ स्थित मेची सामुदायिक सभाहलमा रहेकाे थिएटरकाे कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा साे नाटककाे विषयमा जानकारी गराइएकाे हाे ।
थिएटरकी संस्थापक अध्यक्ष कविता नेपाल पाेर्तेलले ´म्लेच्छ` का विषयमा जानकारी गराउँदै उनले आदिवासी समुदायकाे इतिहासदेखि वर्तमान सम्मका कथा वस्तु समेटिएको बताइन् ।
´आदिवासीका दु:ख, पीडा, छटपटी, जालझेल, विभेद, हेपाई लगायत समस्याका विषयमा नाटक मञ्चन हुनेछ`, नेपालले भनिन्- ´त्यति मात्र हाेइन उनीहरूकाे कला, संस्कृति पनि धरापमा छ । उसवेलाका जमिनदार अहिले सुकुम्बासी हुनु परेकाे पीडालाई नाटक मार्फत जनमानसमा पुर्याउने लक्ष्य रहेकाे छ ।`
पत्रकार सम्मेलनमा थिएटरकी अध्यक्ष लीला विष्ट, निर्देशक गणेश वस्नेत, मञ्च परिकल्पना एन्जल खड्का लगायतले ´म्लेच्छ` नाटक मार्फत आदिवासी समुदायकाे चित्रण गर्न काेशिस गरिएको बताएका छन् ।
नाटक यहि असाेज २५ गतेदेखि कार्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।
मेची सामुदायिक हलमा हुने साे नाटकमा कक्षा-१० का विद्यार्थीलाई १००, प्लस टुका विद्यार्थीलाई १५०, आम नागरिकलाई २५० र ईच्छुक सहयाेगी संघ-संस्था र व्यक्तिलाई टिकटकाे मूल्य ५०० गरिएको छ ।
नाटकमा १७ जना कलाकारहरूकाे प्रस्तुति रहनेछ ।
रंगमञ्च मार्फत समाजकाे रूपान्तरण गर्न सकिन्छ भन्ने उद्वेश्यले विगत १० वर्षदेखि थिएटरले नाटक मञ्चन गर्दै आएको छ ।
थिएटरकी संस्थापक अध्यक्ष नेपालले अहिलेसम्म राज्यले सहयाेग नगरेकाे बताइन् । उनले मेचीनगरमा अहिलेसम्म नाटक घरका लागि आफ्नो भवन समेत नभएकोमा चिन्ता व्यक्त गरिन् ।
यसैवीच आगामी नाेभेम्वर ४ देखि ९ तारिखसम्म भारत आसामकाे लखिमपुरमा तेस्राे अभियान इन्टरनेशनलमा साे नाटक समेत प्रस्तुत गरिने थिएटरले जानकारी दिएकाे छ ।
साे कथाका लेखक कान्तिपुर पत्रिकामा आवद्व पत्रकार पर्वत पाेर्तेल हुन् ।
थिएटरकी अध्यक्ष लीला विष्टकाे अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनकाे सञ्चालन सचिव शिशिर चम्लागाईले गरेका थिए ।
Discussion about this post