मेचीनगर, २४ असोज । सुरक्षा जाँचका लागि प्रहरीले पूर्वी नाका काँकरभिट्टामा तालिम प्राप्त कुकुरको प्रयोग गर्न थालेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी प्रमुख डीएसपी दीपक भारतीले नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई वटा तालिम प्राप्त कुकुर झिकाएर नाकाको चेकजाँच सुरु गरिएको बताए ।
उनका अनुसार धरानबाट ल्याइएका जर्मन सेफर्ड जातका ती कुकुरमध्ये एउटाको नाम ‘पारु’ रहेको छ ।
‘पारु’ले विष्फोटक पदार्थ पत्ता लगाउन सहयोग गर्ने उनको भनाइ छ । अर्को कुकुरको नाम ‘पिङ्कु’ रहेको छ । जसले सीमापारबाट यात्रुले शरीर र सवारी साधनमा लुकाएर ल्याएको लागुऔषध पत्ता लगाउन सहयोग गर्नेछ ।
ती कुकुर परिचालन गर्न प्रहरीको कोशी प्रदेश कार्यालयबाट दुई प्रहरी खटिएका छन् । भारत लगायत तेस्रो मुलुक आवतजावत गर्नका लागि काँकरभिट्टा मुख्य नाका हो ।
यो नाकाबाट बंगालादेश, म्यान्मार र भुटान जाने पर्यटकले समेत यही नाका प्रयोग गर्दछन् । प्रहरीले मेची पुल नजिक चेकजाँचमा दुवै कुकुर प्रयोग गरेपछि नाकाको सुरक्षा जाँच थप कसिलो र व्यवस्थित हुने अपेक्षा गरिएको डीएसपी भारतीले बताए ।
‘चाडपर्वका बेला नाकामा भीड बढ्ने, यहीबेला लागुऔषध र पटाका लगायतका विष्फोटक पदार्थ लुकाइछिपाइ भित्र्याउने कार्य बढ्ने भएकाले चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग गरेका हौँ’, उनले भने, –‘लागुऔषध ओसारपसारको गतिविधि नियन्त्रणमा प्रहरीले ध्यान केन्द्रित गरे पनि भारतबाट ल्याउने कार्य रोकिएको छैन ।’
Discussion about this post