मेचीनगर, २६ असोज । पूर्वी नाकाको सुरक्षालाई थप मजवुत बनाउन सशस्त्र प्रहरीले पनि तालिम प्राप्त कुकुर प्रयोगमा ल्याएको छ ।
नाकाको सुरक्षाका लागि केहि दिनअघि मात्र नेपाल प्रहरीले पनि २ वटा कुकुर ल्याएको थियो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी दीपक भारतीले चाडवाडमा नाकामा हातहतियार, विष्फोटक पदार्थ र लागुऔषधको नियन्त्रण गर्न दुईवटा तालिम प्राप्त कुकुर प्रयोगमा ल्याइउको बताएका थिए । सशस्त्र प्रहरीले पनि लगत्तै २ वटा तालिम प्राप्त कुकुर ल्याएको हो ।
यसअघि नाकाको सुरुक्षाका लागि कसैले पनि तालिम प्राप्त कुकुर ल्याउने सोचेनन् । तर अहिले नेपाल प्रहरीले ल्याएको २ दिन नवित्दै प्रहरीकै अर्को संगठन सशस्त्र प्रहरीले पनि नाकामा सुरक्षाका लागि भन्दै थप २ वटा तालिम प्राप्त कुकुर ल्याएको छ ।
आज सशस्त्रले कुकुरको प्रयोग गरेर सुरक्षा जाँच सुरु गरेको छ । जोजो र जुलेट तालिम प्राप्त कुकुरले नाकामा बिष्फोटक पदार्थ र लागुऔषध निगारानीका लागि यात्रु तथा सवारी साधनको जाँँच गर्न सुरु गरेको सशस्त्र प्रहरी काँकरभिट्टाका प्रमुख डीएसपी रोहित घिमिरेले जानकारी दिए ।
‘सुरक्षा जाँच गर्दा प्रहरीले नभेटेका कुराहरु कुकुरले पत्ता लगाउन सक्छ,’ डीएसपी घिमिरेले भने– कुकुरले सुँघेर थाहा पाउने भएकाले सुरक्षामा सहयोग पुग्छ ।’
चाडपर्वमा हुने अनेक प्रकारका आपराधिक गतिविधि नियन्त्रणका लागि नाकामा २ वटा कुकुर परिचालन गरिएको सशस्त्र प्रहरीका झापा प्रमुख एसपी देवराज अर्यालले बताए ।
Discussion about this post