मेचीनगर, ३० असोज । दश बर्षअघि निर्माण भएको मेचीनगर–७ स्थित प्यारीभिट्टा बसपार्क मंगलबारदेखि सञ्चालनमा आएको छ ।
आज विहान एक कार्यक्रमको आयोजना गरेर मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले प्यारीभिट्टा बसपार्क सञ्चालनको घोषणा गरेका हुन् ।
कार्यक्रममा मेयर बुढाथोकी, निवर्तमान मेयर विमल आचार्य, वडा नम्बर ७ का वडाध्यक्ष प्रलादमणि ओली लगायत नगरक्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
बसपार्कमा एकैपटक दुई सयवटा बसले पार्किङ गर्न सक्ने मेयरको भनाई छ । काँकरभिट्टाबाट एक किलोमिटर पश्चिमतर्फ राजमार्गकै छेउमा ०७० सालमा प्यारीभिट्टा बसपार्क निर्माण गरिएको थियो ।
मेचीनगर नगरपालिकाले आन्तरिक स्रोतबाट तीन करोड ३६ लाख २८ हजार र नगर विकास कोषको ऋणबाट सात करोड ७७ लाख ७२ हजार जुटाएर स्थानीय शिवकुमार थापा, धुव्र शिवाकोटी लगायत १२ जनाले निःशुल्क प्रदान गरेको जग्गामा बसपार्क निर्माण गरेको थियो ।
०६८ असारमा शिलान्यास कार्यक्रम गरिएको थियो । दमकको लामा मैनाचुली शिवशक्ति जेभीले बसपार्कको निर्माण कार्य ठेक्का लिएकोे थियो ।
दुई वर्षपछि निर्माण सम्पन्न सो बसपार्कको उद्घाटन ०७४ भदौमा तत्कालीन मेयर विमल आचार्य र प्रथम मेयर रविन कोइरालाले संयुक्त रुपमा गरेका थिए ।
बसर्पाकमा विद्युत, खानेपानी र व्यवस्थित शौचालयको समेत व्यवस्था गरिएको वडाध्यक्ष ओलीले जानकारी दिए ।
Discussion about this post