बिर्तामोड, ३० असोज । दोस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड नगरपालिका–२ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक एकता स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा हराउँदै झापा एफसी उपाधिनजिक पुगेको हो ।
झापा एफसीले उपाधिका लागि कात्तिक ३ गते मोफसलको अर्को चर्चित टिम झापा–११ एफसीको सामना गर्नेछ । झापा–११ ले सैनिक युथ क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।
आजको खेल अवधिभर दुवै टिमले उत्कृष्ट मुभ बनाउँदै प्रहार गरे पनि गोल हुन सकेन । निर्धारित ६० मिनेटमा दुवै टिम शून्यको अवस्था रहेपछि खेल सिधै टाइब्रेकरतर्फ धकेलिएको थियो ।
टाइब्रेकरमा झापाका लागि पाँचैजना खेलाडी तारानाथ राजवंशी, अनिष पोमु लिम्बू, सञ्जय धिमाल, पारस कार्की र आयुष श्रेष्ठले गोल गरे भने एकताका खमिर गिल्सन कन्दङवा, आशिष चापागाईं, विशाल बस्नेत र निशान तामाङले गोल गरे ।
एकताका मिलन राईको प्रहार झापाका गोल किप्पर योगेश धिमालले विफल बनाइदिएका थिए ।
आजको खेलको प्लेयर अफ द म्याच झापाका गोल किप्पर योगेश धिमाल भए । उनलाई आजका प्रमुख अतिथि देवी संग्रौलाले नगद तीन हजार प्रदान गरे ।




Discussion about this post