।। अर्जुन कार्की ।।
मेचीनगर, ३ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरुले विदेशी चाँड पर्वलाई भन्दा आफ्नो मौलिक र ऐतिहासिक चाड पर्वहरुलाई महत्वपूर्ण मान्नु पर्ने बताएका छन् ।
आज बिर्तामोडको साई पार्टी प्यालेस सिटी सेन्टरमा एमाले झापा पार्टीको सहजिकरणमा गरिएको बडादशैँ, तिहार, नेपाल सम्बत्, छठ लगायतका पर्वहरुको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष ओलीले विदेशी चाडलाई भन्दा नेपाली चाडपर्वहरुलाई महत्व दिन आग्रह गरे ।
‘नेपाली चाड पर्वहरु त्यतिकै बनेका होइनन्’, पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने–‘यसका ऐतिहासिक परम्परा, महत्वलाई बुझ्नु पर्छ । कुनैपनि युद्व गर्दा पहिला दुःख हुन्छ । युद्व जितपछि जति खुसी हुइन्छ । विजयी उत्सव मनाईन्छ । यो पर्व पनि त्यस्तै हो । चाड पर्वहरुलाई उत्सवको रुपमा मनाउनु पर्छ ।’
‘यस्तो चाडपर्वले देशमा समृद्वि प्राप्त होस् । जुनसुकै आस्था बोकेका नागरिकहरुलाई बडादशौको अवसरमा शुभकामना व्यक्त गर्न चाहान्छु । समृद्व नेपाल, सुखी नेपाली राष्ट्रका लागि आवश्यक छ’, उनले भने ।
सरकारले एकता र सदभाव भड्कायो : उपाध्यक्ष पौडेल
कार्यक्रममा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सरकारले लोकतन्त्रमा खलल पुर्याएको बताए । उनका अनुसार देश संकटमा फसेको छ । बजारमा महंगी अचाक्ली बढेको छ । अर्थतन्त्र डमाडोल पारिएको छ ।
उपाध्यक्ष पौडेलले एकता र सदभाव भड्काउने विखण्डनकारीहरु(गठबन्धन)सँग जुध्न सबै एकजुट हुन जरुरी रहेको बताए । उनले बडादशैँको अवसरमा राष्ट्रलाई समृद्व बनाउन पहिलो क्रान्तिको विगुल फुक्ने जिल्ला झापाले देशभरी एकताको सन्देश फैलाउन मद्दत पुगोस् भन्ने कामना गरेका छन् ।
एकता आवश्यक छ : कांग्रेस, माओवादी र राप्रपा
कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष पौडेल, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री धर्मशिला चापागाई, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का झापा अध्यक्ष केशवप्रसाद ओझा, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, वीएण्डसी अस्पतालका प्रमुख डाक्टर रामबाबु गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
ओली प्रधानमन्त्री भए सम्बन्धन पाउने आशा छ : डा.गिरी
कार्यक्रममा डा.गिरीले वीएण्डसी अस्पताल टुहुरो जस्तै भएको बताए । उनले अहिलेसम्म अस्पतालले सम्बन्धन नपाएकोमा गुनासो गरे । उनले ठुलो लगानी र पूर्वाधार पुगेको अस्पताललाई सम्बन्धन नदिनु चिन्ताको विषय भएको बताए । उनले ओलीले अस्पताल अब टुहुरो नहुने आश्वसन दिएको बताए । ओली अब प्रधानमन्त्री बने अस्पतालले सम्बन्धन पाउने आशा रहेको डा. गिरीको भनाई छ ।
कलाकार राई र जग्गादाता सम्मानित
सो अवसरमा कलाकारहरु प्रितम राई, पवित्रा ओली, श्रेय ढकाल, खलिबाहरुले गीत तथा नित्य प्रस्तुत गरेका थिए ।
अध्यक्ष ओलीले झापा पार्टीलाई १० कठ्ठा जग्गा दान दिने डिल्ली सिटौला दम्पति र ‘मेरो भ्वाइस युनिभर्स’को प्रतियोगितामा एक करोड रुपैयाँ पुरस्कार जित्न सफल भारतका प्रितम राईलाई सम्मान गरेका थिए ।
कार्यक्रमको सञ्चालन एमाले झापाका अध्यक्ष दीपक कार्की र सचिव शिव ढुंगेलले संयुक्त रुपमा गरेका थिए ।
Discussion about this post