झापा, १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतिको सरकार बन्ने बताएका छन् ।
आज प्रदेशसभामा विश्वासको मत लिएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास थाल्ने बताएका हुन् ।
मुख्यमन्त्री कार्कीलाई सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका साथै गठबन्धनमा नरहेको नेकपा एमालेले पनि विश्वासको मत दिएको छ ।
मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा नेकपा एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई सहभागी गराएका छन् भने अझै ६ जना मन्त्री चयन गर्न बाँकी छ ।
सत्तारुढ गठबन्धनका शीर्ष नेताले कोशीमा एमाले बाहेकको सरकार बनाउने अभिव्यक्ति दिइरहेका बेला मुख्यमन्त्री कार्कीले एमालेसहितको सरकार बनाउने आशय व्यक्त गरेका हुन् ।
आपसी संवादपछि जतिसक्दो चाँडो मन्त्रिपरिषद विस्तार गरिने उनले बताए ।
Discussion about this post