झापा, १० कात्तिक । आज खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ ।
नेपाल पञ्चाङ निर्णायक विकास समितिले शनिबार राति १ः१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ः१९ बजेदेखि नै सुरु हुने नेपाल पञ्चाङ निर्णायक विकास समितिले जनाएको छ ।
राति २ः३८ बजे ग्रहणको मोक्ष अर्थात समाप्त हुने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ) मा उल्लेख छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थहरुमा उल्लेख छ ।
यो चन्द्रग्रहण २०८० मा लाग्ने एउटै मात्र ग्रहण भएको समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा.देवमणि भट्टराईले जानकारी दिए । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।
ग्रहणका बेला के गर्न हुन्छ, के गर्न हँुदैन ?
शनिबार दिउँसो ४ः१९ बजेदेखि बाल, वृद्ध, बिरामी, सुत्केरी बाहेकले भोजन गर्न नहुने समितिले जनाएको छ । अन्न खानबाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्नहुन्छ ।
ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको छ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ ।
Discussion about this post