मेचीनगर, २३ कात्तिक । नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखाले मेचीनगरको एउटा विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीलाई बिना धितो ऋण दिने सहमति भएको छ ।
बुधवार नेपाल बैंक लिमिटेड काँकरभिट्टा शाखा र मेचीनगर–८ स्थित श्री कञ्चनजंघा आधारभुत विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीलाई सो बैंकबाट बिना धितो कर्जा प्रवाह गर्ने सम्झौता भएको हो ।
नेपाल बैंक काँकरभिट्टा शाखाका प्रबन्धक गोविन्दप्रसाद सुवेदी र श्री कञ्चनजंघा आधारभुत विद्यालयका प्रधानाध्यापक घनश्याम पोखरेलबीच बैंकबाट प्रवाह गरिने सेवाग्राही कर्जा लिने दिने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कार्यक्रममा बैंकको तर्फबाट प्रबन्धक सुवेदी, सहायक शाखा प्रबन्धक श्रद्धा साह, कर्जा विभागका कर्मचारी भानुभक्त ढुंगाना तथा विद्यालयका तर्फबाट प्रधानाध्यापक पोखरेल, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
बैंकका शाखा प्रबन्धक सुवेदीले सहजीकरण गरेको सो कार्यक्रमको सञ्चालन कर्जा विभागका कर्मचारी ढुंगानाले गरेका थिए ।
सो बैंकले यसअघि मेचीनगरका केहि सामुदायिक विद्यालयका स्थायी शिक्षक र कर्मचारीलाई बिना धितो ऋण दिने सम्झौता गरेको थियो ।
Discussion about this post