झापा,२३ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्ने सम्बन्धी प्रस्ताव मतदानबाट अस्वीकृत गरेको छ ।
विहीबार हेटौंडामा भएको विशेष साधारण सभामा नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान भएको थियो । सो प्रस्ताव मतदानबाट अस्वीकृत भएको छ ।
प्रस्तावको पक्षमा एक मत पनि परेन । विपक्षमा ५३ मत परेको छ । एक मत भने बदर भएको छ ।
विशेष साधारण सभामा नेम्वाङलाई बर्खास्त गर्नुपर्छ भन्ने प्रस्ताव राख्ने असन्तुष्ट पक्षले मतदान नै गरेनन् ।
एन्फामा कुल १०७ जना सदस्य छन् । ती मध्ये ८७ जनासँग मताधिकार छ । त्यसमध्ये ५३ जनाले मात्र मतदानमा सहभागी भएका थिए । अध्यक्षको बर्खास्तीको प्रस्ताव पारित हुन दुईतिहाइ मत आवश्यक पर्ने विधानमा व्यवस्था छ ।
एन्फा नेतृत्वले काम गर्न नसकेको भन्दै गत भदौमा असन्तुष्ट पक्षले अध्यक्ष र महासचिवको बर्खास्तीको प्रस्ताव पेश गरेका थिए ।
Discussion about this post