मेचीनगर, १५ मंसिर । संघीय प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले हिन्दु सनातन धर्म सबैको साझा धर्म भएको बताएकी छन् ।
मेचीनगर-१२ सहरेडाँगी स्थित पञ्चावटी वीरभद्र महाकाली धाम मन्दिरको चौतर्फी विकासका लागि शुक्रबारदेखि आयोजित महापुराणको उद्घाटनपछि प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपसभामुख रानाले उक्त कुरा बताएकी हुन् ।
हिन्दु सनातन धर्म संसारको उच्च संस्कारिक विधिको धर्म भएको बताएकी छ्न् ।
संसारमा मानिदैँ आएका अन्य सबै धर्मको बारेमा चर्चा गर्दै परम्परागत र आधुनिक समयमा यसको महत्त्वबारे बताउँदै उनले पछिल्लो समयमा हिन्दु सनातन साँगुरिदै आएको भन्दै सबै सचेत हुनुपर्ने बताइन् ।
उनले महिला हिंसालाई अन्त्य गर्न सरकारले लगानी गर्नुपर्ने बताइन् ।
१६ दिने अन्तर्राष्ट्रिय हिंसा दिवस चर्चा गर्दै लैंगिक हिंसालाई अन्त्य गर्ने सरकारीस्तरको लगानीले मात्रै सफल हुने उनको धारणा थियो ।
कार्यक्रममा मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, मन्दिर सञ्चालक समितिका अध्यक्ष इन्द्रमणी प्रसाईले शुभकामना मन्तव्य राखेका थिए ।
पुराण आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीको अध्यक्षतामा सुरू श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन-धान्यञ्चल महापुराणकाे स्वागत भक्त खेवाङ्गले गरेका थिए ।
कार्यक्रमकाे सञ्चालन प्रेमराज घिमिरे र केशव भट्टराईले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रमपछि चर्चित भागवत वाचिका राधिका दासीले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ धन-धान्यञ्चल महापुराण सुरु गरेकी थिइन् ।
Discussion about this post